खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले आज बिहान तीनधारे महानदी समष्टि अन्तर्गत घुम्ती चियाबारीमा आफ्नो चुनाव प्रचार गरेका छन्। उनले घुम्ती चियाबारीको श्रमिकहरुसित भेटघाट साथै विभिन्न समस्याहरु विषयमा बातचीत गरेका छन्। घुम्ती चियाबारीको श्रमिकहरु बिहान मेलोमा लाग्न अघि नै पुगेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले कुराकानी गर्दै श्रमिकहरुको विभिन्न समस्याहरु समाधान गर्ने आश्वासन दिएका छन्। घुम्ती चियाबारीको कारखाना नजिकमा रहेको गन्ती डाँडामा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्दै अमर लामाले पहाडबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनजना विधायकहरु जितेर विधानसभामा पुगेपछि चियाबारी श्रमिकहरुको विभिन्न समस्याहरु विषयमा कुरा उठाउने आश्वासन दिएका छन्। उक्त चुनावी सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती युनिटको सभापति देवेन्द्र सुब्बाले सञ्चालन गरेका थिए। चुनावी सभापछि अमर लामाले घुम्ती चियाबारीको कारखाना भ्रमण गर्नुको साथै घुम्ती चियाबारीको प्रबन्धकसित पनि भेटघाट गरेका थिए। यसै अवधि अमर लामाले महानदीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनाव कार्यालय पनि उदघाटन गरेका छन्। घुम्ती चियाबारीको चुनावी सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती युनिटको सभापति देवेन्द्र सुब्बाले घुम्ती चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले जित्ने निश्चित रहेको दावी गर्दै यहाँ सबैले अनित थापा र अमर लामालाई समर्थन गरेर चुनावमा जिताउने आशा रहेको बताएका छन्।

यस चुनाव प्रचार कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्तिका तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान लगायत महानदी र घुम्ती कमानको पार्टी पदाधिकारीहरु उपस्थित रहेका थिए।










