दार्जिलिङ: केन्द्र सरकारद्वारा नियुक्त इन्टरलोक्युटर पंकजकुमार सिंहको निमन्त्रणामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक टोलीले दार्जिलिङको एक होटलमा उनीसँग भेटघाट गरेका छन्। भागोप्रमो अध्यक्ष अनित थापाको नेतृत्वको टोलीमा आलोक कान्तमणि थुलुङ, सतिश पोख्रेल र बारुद थापा सहभागी थिए। भेटपछि जारी वक्तव्यमा अनित थापाले भने, “इन्टरलोक्युटरसँग यो मेरो दोस्रो भेट हो। हाम्रो भेटघाटमा गोर्खाको दीर्घकालीन मागमाथि धेरै चर्चा भयो। उहाँहरुले पनि समस्यालाई बुझ्न धेरै प्रश्नहरु गर्नुभयो। हामीले भरसक्दो उहाँहरुलाई यहाँको वास्तविकता बुझाइ दिएका छौं। हामीलाई क्षेत्रीयताको महत्व किन छ भन्ने विषयमा उहाँलाई अवगत गराएका छौँ। पहाडको जनताको आकांक्षा के रहेको छ त्यो विषयमाथि मैले जोड दिएर आफ्नो तर्क राखे।”
जीटीएबारे थापाले स्पष्ट पारे, “जीटीए मैले त्याग गरिसकेको छु। त्यसैले अहिले डायलग ओपन भएको छ। यस डायलगले यहाँको जनताको आकांक्षा पूरा हुनलाई केही प्रदान गर्छ भन्ने मैले विश्वास राखेको छु।” उनले थपे, “जीटीए मैले त्याग गरिसकेको छु। त्यसैले त्यसमाथि म बोल्ने छुइन। जीटीए खारिज गर्छु भनेर नेताहरुले भनिसकेका छन् अब कहिले गर्ने हुन् त्यो पर्खेर बसेको छु।”
भाजपा र गठबन्धनलाई लक्षित गर्दै उनले भने, “गोर्खाल्याण्डको निम्ति जीटीए बाधा हो भनेका थिए। त्यसैले जनताले गोर्खाल्याण्डको निम्ति बीजेपीलाई विजयी पनि बनाए। अब गोर्खाल्याण्ड दिनु बीजेपीको ठूलो जिम्मेवारी बन्छ। मेरो जिम्मेवारी भनेको गोर्खाल्याण्डको बाधा जीटीएलाई छोड्नु थियो। त्यो मैले छोडिसकेको छु। अबको जिम्मेवारी बीजेपी अनि गठबन्धनको ठूलो छ। हामी गोर्खाल्याण्डको समर्थनमा छौँ। तर जिम्मेवारी गठबन्धनले निभाउनुपर्छ।”

जीटीए सभाले पारित गरेको गोर्खाल्याण्ड प्रस्तावबारे थापाले भने, “जीटीए सभामा पारित गरिएको गोर्खाल्याण्डको प्रस्ताव अनरेकर्ड सरकारलाई पठाइएको छ। तसर्थ इन्टरलोक्युटरलाई त्यो प्रस्तावको दस्तावेज बुझाइएन।”
ड्राफ्टिङ समितिबारे उनले जानकारी दिए, “गोर्खाको दीर्घकालीन माग अनि समस्याको समाधान गर्न नियुक्त गरिएको इन्टरलोक्युटरको नेतृत्वमा एउटा ड्राफ्टिङ समिति बनाइएको छ। गोर्खाको मागलाई अझ दह्रिलो बनाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अडानलाई हामीले पंकज कुमारसिंह अनि उनको टिम समक्ष पुनः राख्यौँ। म विश्वस्त छु कि पंकजकुमार सिंहले तयार गर्ने ड्राफ्ट गोर्खा हितमा रहनेछ।”





