खरसाङ: खरसाङमा उम्मेद्वार बनाउन कोही नपाएको? खरसाङमा शिक्षित र लिडरशीप गर्ने कोही छैन? दार्जिलिङमा रिजेक्ट भएको मान्छेलाई खरसाङमा उठाएको छ। तर सोनाम लामा त खरसाङकै भूमिपुत्र हुन् गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङले बिहीबार खरसाङमा बताएका छन्। उनले खरसाङमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाको पक्षमा चुनावी सभालाई सम्बोधन गर्दै पहाडमा सर्वप्रथम कमलको फूल फुलाउने गोर्खा जनमुक्ति मोर्चा हो। पहाडमा भाजपालाई भित्र्याउने गोजमुमो हो भनी बताए। उनले ब्यंग्य गर्दै भागोप्रमो खरसाङका उम्मेद्वार अमर लामालाई औल्याउँदै दार्जीलिङबाट रिजेक्ट भएको व्यक्तिलाई खरसाङमा ल्याएर उठाइएको जनाउँदै यसले खरसाङमा भागोप्रमोले कोही योग्य व्यक्ति नपाएको उल्लेख गरे। गुरूङले उनको समयमा खरसाङलाई धेरै कुरा दिएको अवगत गराउँदै तर वर्तमान जीटीएका प्रशासकहरूले केही नदिएको बरू भएकाहरूलाई पनि लिजमा दिन थालेको बताए। तिनले गिद्ध पहाड नजिकको रोप वे, खरसाङ पोलेटेक्निक नजिकको ट्याक्सी स्ट्याण्ड लगायत अन्य विकासमूलक कार्यहरू अझसम्म थाँतीमा नै राखेको जनाउँदै अब यसको लेखाजोखा हुने बताए। गुरूङले सोनाम लामा खाँटी खरसाङका एक युवा नेता रहेको उल्लेख गर्दै उनको जीत निश्चित रहेको जनाए। केही समय अघि भाजपासँग भएको तिनको असन्तुष्टि बारे जानकारी गराउँदै गुरूङले यस सम्बन्धमा भाजपाका वरिष्ट नेताहरू तथा गृह मन्त्री स्वयंले पनि गोर्खाहरूको निम्ति अवश्य नै राम्रो हुने प्रतिश्रुति दिएको फलस्वरूप नै तिनीहरूले यसपल्ट पनि भाजपालाई सहयोग गरेको तथा बङ्गालसँगै दार्जीलिङ पहाडमा पनि अब परिवर्तन आउनुपर्छ भन्ने उद्देश्यले पुनः एकचोटि भाजपालाई गोजमुमोले सहयोग गरेको जनाए। उनले खरसाङवासीलाई यसपल्ट सचेत भएर भोट हाल्ने आग्रह पनि गरे।









