भागोप्रमोबाट राजीनामा दिएर निर्दलीय प्रार्थीको रुपमा खड़ा भए महेन्द्र शर्मा

IMG-20230621-WA0264.jpg

खरसाङ: खरसाङ खण्डको पाण्डु ग्राम पञ्चायत अन्तर्गत मकैबारी चिया बगानको कोदोबारी, फूलबारी, चेप्टे अनि कैलापानीको बुथबाट आगामी ८ जुलाईमा सम्पन्न हुने पञ्चायत चुनाउको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शाखा सभापति महेन्द्र शर्मा निर्दलीय प्रार्थीको रूपमा खडा भएका छन्। तिनले पार्टीबाट आफ्नो पद अनि साधारण सदस्यताबाट पनि राजीनामा दिएर चुनाउमा एक निर्दलीय प्रार्थीको रूपमा खडा भएका छन्। पार्टीको स्थापनाकालदेखि नै खूबै सक्रिय भएर एक प्रतिनिधिको रूपमा खटिरहेका शर्माले यसपालीको पञ्चायत चुनाउमा पार्टीका शीर्ष नेतृत्वहरूले शाखा स्तरमा कुनै सल्लाह परामर्श नगरी नै आफू खुशी चुनाउको टिकट दिएकोमा आफूले पार्टी छोड्ने निर्णय लिएको बताएका छन्। तिनले आफूहरू पार्टीमा स्थापनाकालदेखि नै एक प्रतिनिधिको रूपमा खटिरहेको भए तापनि पार्टीले कुनै महत्व नदिने गरेको जनाउँदै आज एक स्वतन्त्र रूपमा अब जनताको अनि गाउँवासीको सेवा गर्न यसरी चुनाउको मैदानमा उत्रिएको बताए। शर्माले यदि मैले यस अघि गाउँवासीको निःस्वार्थ भावले सेवा गरेको छु भने मलाई जनताले उनीहरूको काम गर्न चुनेर पठाउँछन् भन्दै तिनले अन्यथा अबोप्रान्त यस पार्टीमा नबस्ने पनि स्पष्ट पारे। तिनले आफ्नो राजीनामा पत्र पार्टीको समष्टि स्तरीय नेतृत्वहरूलाई सुम्पिएको अवगत गराउँदै अब आफू स्वतन्त्र रूपले काम गर्न मैदानमा उत्रिने बताए।

About Author

Advertisement