भागोप्रमोको दार्जिलिङमा शक्ति प्रदर्शन

IMG-20230903-WA0296.jpg

दार्जीलिङका गोर्खाहरूमाथि सांस्कृतिक अतिक्रमण भएको छ: केशवराज पोख्रेल

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, दार्जीलिङ महकुमा समितिले शक्ति प्रदर्शन गर्दै आज दार्जिलिङस्थित मोटर स्ट्याण्डमा जनसभा आयोजना गर्यो। सभामा दार्जिलिङ महकुमाका विभिन्न समष्टिबाट कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।जनसभालाई सम्बोधन गर्दै भागोप्रमोको केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले जनतालाई सचेत गराउँदै भने, “२०२३ को दार्जिलिङमा सांस्कृतिक अतिक्रमण भएको छ। १८५० मा भारत थिएन। तिमीले १८५० को कुरा होइन २०२३ को कुरा गर। २०२३ को दार्जिलिङमा फूलपातीको जुलुसभन्दा रामनवमीको जुलुस ठूलो हुनथाल्यो। सांस्कृतिक अतिक्रमण हुँदैछ २०२३ को दार्जिलिङमा। यहाँको पहाडेहरुलाई खतरा छ। गोर्खा जनसंख्याको हिसाबमा अल्पसंख्यक बन्दैछौं। अमीत शाहले संसद भवनमा गोर्खालाई भारतमा १९५० को सन्धीले बचाउँछ भनेको गोर्खाहरू अनुप्रवेसकारी हुन् भनेका हुन्। अनुप्रवेशकारी भन्ने अमीत शाह तर पुत्ला चाहिँ डीके प्रधानको जलाउने? जुन पार्टीको गृहमन्त्रीले गोर्खालाई अनुप्रवेसकारी भन्यो त्यसैलाई भोट दिएको होइन दार्जीलिङले? मलाई हराउनु अमीत शाह आएको थियो। यति याद राख्नुहोस।”
जनसभामा वक्ताहरुले भागोप्रमो फ्यान क्लबले जन्माएको पार्टी होइन, हिन्दु मुश्लिमलाई लढ़ाएर चलाउने पार्टी होइन तर सत्य बोलेर क्याडरले जन्माएको पार्टी हो। बीजीपिएम १०३ वटा ग्राम पञ्चायत जित्ने पार्टी हो, ३७ जना सभासद भएको पार्टी हो, ८ वटा पञ्चायत समिति जितेको पार्टी हो, ३ वटा नगरपालिका चलाउने पार्टी हो भनी बताएका छन्। वक्ताहरूले भने कि पहाडमा दुई किसिमको राजनैतिक हुद्दा छ सकारात्मक सोच बोकेको अनि नकारात्मक सोच बोकेको। हामी 50% जनताको म्यान्डेट लिएर सत्ता चलाउने सकरात्मक सोचको हुद्दा हौं। हामी सरकारसँग मिलेको तृणमूलसँग होइन भनी बताए। सम्बोधनको क्रममा वक्ताहरूले दुई मुख्य विषयलाई उठाए। पहिलो डीके प्रधानको पुत्ला जलाइएको मुद्दा अनि ५ डेसिमल पट्टा। पट्टा विषय आलोककान्त मणि थुलुङले भने, “अनित थापाले पञ्चायती व्यवस्था ल्याउँछु भने, ल्याए। पट्टा दिलाउँछु भने, दिलाए। अब यसरी नै कृषि पट्टा पनि दिलाउँछु भनेका छन्। विश्वास गर्नुहोस् कृषि पट्टा पनि पाउनु हुनेछ। अहिले सोसियल मिडियामा पट्टाको आवेदन पत्र भर्ने फारम फर्जी फारम हो भन्दै उनले चेतावनी दिँदै भने, “फर्जी फारम आजदेखि फैलाउनु बन्द गर। कमान घुम्दै नघुम्नेहरुले पट्टाको विरोध गर्छन्। सोझो जनतालाई लट्टाएको देख्दा मेरो खुन उम्लिन्छ। खस्रोपन आउनु स्वाभाविक नै हो। पट्टा भनेको दस्तावेज हो। कुकुरको घाँटीमा बढ्ने पट्टा होइन। कुक्कुरे प्रवृत्ति भएकाहरूले दस्तावेजलाई पनि घाँटीमा बाँधिने पट्टा नै देख्छ।”

थुलुङले भने, “५ डेसिमल भए पनि पट्टा थाप्नु होस्। बेसी भएको जमीनको ग्यारेण्टी बीजीपिएमले लिनेछ।”
जनसभालाई सम्बोधन गर्दै प्रमोस्कर ब्लोनले भने, ” जमीनसँगै आएको भनेर हुँदैन। कागज बोल्छ। राशन कार्ड थाप्नेहरू अहिलेसम्म कोई सुकुम्बासी भएको छ? छैन। त्यसरी नै पट्टा थाप्नेहरू कोही पनि शरणार्थी हुनेछैन्।”
जनसभालाई जेबी तामाङ, अमृत योञ्जन, निर्मल छेत्री, सन्दिप छेत्रीले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement