सान साल्भाडोर: मध्य अमेरिकी राज्य एल साल्भाडोरको स्टेडियममा भागदौड हुँदा नौ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। समर्थकहरू स्टेडियममा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको पुलिसलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। पुलिसका अनुसार कुस्काटलाना स्टेडियममा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ।

पुलिसले सार्वजनिक गरेको भिडियोमा स्टेडियम बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएका तर्फ दौडिइरहेका देखिन्छन्। अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन्।










