नयाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले रक्सी घोटालामा उपमुख्यमन्त्री मनिष सिसोदियाको पक्राउलाई फोहोरी राजनीति भनेका छन्। यसका कारण जनतामा चर्को आक्रोश रहेको उनले बताए। सिसोदियालाई सन् २०२१-२२ को अन्तःशुल्क नीति कार्यान्वयनमा भ्रष्टाचार गरेको आरोपमा आइतबार सीबीआईले पक्राउ गरेको थियो। करिब ८ घण्टा लामो सोधपुछपछि केन्द्रीय निकायले उनलाई पक्राउ गरेको हो।
अरविन्द केजरीवालले ट्विटमा भने, ‘मनिष निर्दोष छन्। उनको पक्राउ फोहोरी राजनीति हो। मनिष पक्राउ परेपछि जनतामा चर्को आक्रोश छ। सबैले हेरिरहेका छन्। जनताले सबै कुरा बुझेका छन्। जनताले यसको जवाफ दिनेछन्। यसले हाम्रो मनोबल अझ बढाउँछ। हाम्रो संघर्ष अझ बलियो हुनेछl’ सिसोदियाको पक्राउपछि अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भगवन्त मान उनको घर पुगेका छन्। त्यहाँबाट फर्किएपछि उनले पत्रकारहरुलाई भने, ‘सोदियालाई झुटो मुद्दामा पक्राउ गरिएको होl’ ब्यांकलाई ठगी गर्नेलाई कारबाही नभएको उनले बताए।
अर्कोतर्फ भगवन्त मानले विद्यालय निर्माण गर्नेलाई जेल पठाउनु भाजपाको एजेण्डा मात्र हुनसक्ने भन्दै देश शिक्षित नहोस् भन्ने चाहना रहेको बताए। उनले सिसोदियाको पक्राउको कडा शब्दमा निन्दा गरेको बताए। अधिकारीहरूका अनुसार सिसोदियाले करिब आठ घण्टाको सोधपुछ पछि उनको जवाफ सन्तोषजनक नभएको कारण पक्राउ गरिएको थियो। सिसोदिया दोस्रो चरणको सोधपुछका लागि बिहान ११.१५ बजे सीबीआई मुख्यालय पुगेका थिए। गत वर्ष १७ अक्टोबरमा आम आदमी पार्टीका नेता सिसोदियालाई पहिलो पटक सोधपुछ गरिएको थियो। उनी सीबीआईको एफआईआरमा नम्बर १ अभियुक्त छन्।









