काेलकत्ता: भारतले ब्राजीलविरुद्ध लड़ाकू प्रदर्शन गरे पनि हारको सामना गर्नु पऱ्यो। शनिवार काेलकत्ताको विवेकानन्द युवाभारती क्रीड़ांगण (सल्ट लेक स्टेडियम)-मा खेलिएको अन्तर्राष्ट्रिय मैत्री म्याचमा पाँचपल्टको फिफा विश्व कप विजेता ब्राजीलले भारतलाई ४-०-ले पराजित गऱ्यो। रियल म्याड्रिडका फरवर्ड विनिसियस जूनियर, आर्सनलका डिफेण्डर गेब्रिएल मेगाल्हेस, मीडफिल्डर ब्रूनो गुइमारेस र अनुभवी मार्क्विन्होस जस्ता स्टार खेलाड़ीहरूले सुसज्जित ब्राजीलले आशानुरुप म्याच जित्यो। फिफा विश्व ऱ्याङकिंगमा पाँचौं स्थानमा रहने ब्राजील र १३८औं स्थानमा रहने भारतबीच फूटबलको स्तरमा ठूलो अन्तर भए पनि खालिक जमीलको टोलीले आज आफ्नो सर्वश्रेष्ठ प्रयास गऱ्यो। यसअघि पानामाविरुद्ध म्याच १-१-ले ड्र गर्न सफल भारतले आज पनि आफ्नो खेलद्वारा प्रशंसकहरूका मन जित्यो। म्याचमा ब्राजीलको निम्ति एस्तेभाओ विलियनले २८औं मिनटमा गोलको खाता खोले। त्यसपछि पेड्रोले ४२औं मिनटमा अझ एक गोल गरी ब्राजीललाई मध्यान्तर अघि २-०-ले अघि पारे। दोस्रो हाफको खेलमा पनि ब्राजीलले गोलीमाथि अधिक नियन्त्रण राख्यो। यसै क्रममा सेमुएल लिनोले ५८औं मिनटमा कार्लो एन्सेलोटीको टोलीलाई म्याचको तेस्रो गोल दिलाए। अन्तमा सेमुएल लिनोले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा व्यक्तिगत दोस्रो गोल गरी ब्राजीललाई ४-०-ले जीत दिलाए। म्याचको पहिलो हाफमा भारतले ब्राजीलको आक्रमणलाई रोकेर राखे पनि समयको साथमा ल्याटिन अमेरिकी देशले दबाउ बढ़ाएर एकपछि अर्को ४ गोल दर्ता गऱ्यो। ब्राजीलको टोली अष्ट्रेलियाविरुद्ध ४-२-ले जीतको साथ भारतमा आएको थियो। यो भारत र ब्राजीलबीच सीनियर स्तरमा पहिलो अन्तर्राष्ट्रिय म्याच थियो। भारतले अब ६ अक्टोबरमा खेलिने म्याचमा २ पल्टको विश्व च्याम्पियन उरुग्वेको सामना गर्नेछ।





