नयाँ दिल्ली: ब्राजीलको घरेलु टुर्नामेण्ट केम्पिओनातो मिनेरो (मिनास गेराइस स्टेट च्याम्पियनशीप) -को फाइनलमा क्रूजेरो र एट्लेटिको मिनेरोबीच भिड़न्त भएको थियो अनि त्यही म्याचको अवधि सर्वाधिक रेड कार्डको रेकर्ड बनियो । म्याचमा एट्लेटिको मिनेरो लगभग अन्तसम्म १-०-ले अघि रहेको थियो। म्याचको अन्तिम क्षणमा चाहिँ फूटबल मैदान रणक्षेत्रमा परिणत भयो। एट्लेटिको मिनेरोका गोलकीपर एवर्सनले क्रूजेरोका मीडफिल्डर क्रिस्टियनलाई लड़ाएर घुँड़ाले अनुहारमा हिर्काउँदा मैदानमा २ टीमका खेलाड़ीहरू झगड़ा शुरु भयो। दुवै टीमको बेञ्चका खेलाड़ीहरूका साथमा प्रशिक्षक र अन्य सहयोगी स्टाफहरूले पनि मैदानमा ओर्लिएर एकार्कालाई कुटपीट गर्न शुरु गर्दा स्थिति झन् उग्र भयो। पछिबाट सुरक्षा अधिकारीहरू मैदानमा ओर्लिएर स्थितिलाई शान्त गरे। त्यसपछि रेफरी मेथियस डेलगाडोले एकपछि अर्को गर्दै २३ जनालाई रेड कार्ड देखाए। यसमा क्रूजेरोका १२ जना अनि एट्लेटिको मिनेरोका ११ जना सामेल छन्। रेड कार्ड देख्ने खेलाड़ीहरूमा ब्राजीलका स्टार फरवर्ड हल्क पनि सामेल छन्। यसअघि १९५४-मा पुर्तुगेसा र बोटाफोगोबीच खेलिएको म्याचमा २२ वटा रेड कार्ड देखाइएको थियो। फाइनलमा १ गोलको बढ़त हासिल गर्ने एट्लेटिको मिनेरोलाई च्याम्पियन घोषित गरियो।










