बेलोन डी’ओर-को ३० सम्भावितहरूमा मेस्सी र हालाण्ड रहे पनि रोनाल्डो बाहिर

IMG-20230907-WA0238.jpg

७ सेप्टेम्बरः प्रतिष्ठित बेलोन डी’ओर पुरस्कार २०२३-को निम्ति बुधवार साँझ ३० सम्भावितहरूका नामको घोषणा गरियो। फ्रान्सको फूटबल पत्रिकाले यस वर्ष पुरस्कारको निम्ति सम्भावितहरूका जुन लिस्ट बनाएको छ, त्यसमा ३० पुरुष र ३० महिला फूटबल खेलाड़ीहरू सामेल गरिएको छ। दुवै वर्गमा सर्वश्रेष्ठ फूटबलरलाई पुरस्कार दिइनेछ। पुरुष वर्गमा पुरस्कारको निम्ति चयन गरिएको ३० सम्भावित खेलाड़ीहरूमा नर्वे र म्यानचेष्टर सिटीबाट खेल्ने एर्लिंग हालाण्ड, मिस्र र लिभरपूलबाट खेल्ने स्ट्राईकर मोहामेद सलाह, ईंग्ल्याण्ड र रियल म्याड्रिडबाट खेल्ने स्टार मीडफिल्डर जूड बेलिंघम तथा फ्रान्स र पेरिस सेण्ट जर्मेनबाट खेल्ने किलियन एम्बाप्पे जस्ता स्टारहरू सामेल छन्। यसरी स्पेनलाई वर्ल्ड कप खिताब जिताउने एटाना बोनमतीलाई महिला वर्गमा खिताब जित्ने प्रबल दावेदार मानिएको छ। यस साल विजेताहरूलाई ३० अक्टोबरमा पेरिसमा हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ। पूर्व खेलाड़ीहरू, प्रशिक्षक अनि प्रशंसकहरूका भोटको आधारमा विजेताको चयन गरिन्छ।
गत वर्ष कतरमा अर्जेण्टिनालाई वर्ल्ड कप दिलाउने इण्टर मियामी क्लबका दिग्गज फूटबलर लियोनल मेस्सी पनि यस लिस्टमा स्थान बनाउन सफल भएका छन्। आर्सनलका मार्टिन ओडेगार्ड र बुकायो साकाको साथमा बायर्न म्यूनिखका ह्यारी केन पनि ३० सम्भावित खेलाड़ीहरूका लिस्टमा सामेल छन्। साल २०२२-को बेलोन डी’ओर-को प्राथमिक सूचीमा मेस्सीको नाम थिएन। अर्जेण्टिनाई दिग्गजले सातपल्ट यो पुरस्कार जितिसकेका छन्। यस साल अझ एउटा उदेगलाग्दो फसेला देख्न पाइएको छ। बेलोन डी’ओर पुरस्कारको इतिहासमा दोस्रो सबैभन्दा सम्मानित खेलाड़ी क्रिस्टियानो रोनाल्डो यसपाली सम्भावितहरूका सूचीमा सामेल हुनदेखि चुकेका छन्। पोर्तुगलका कप्तानले पाँचपल्ट पुरस्कार जितिसकेका छन्। यसपाली चाहिँ २० सालपछि उनको नाम प्रतिष्ठित पुरस्कारको लिस्टमा छैन। साल २००४-मा रोनाल्डोको नाम पहिलोपल्ट बेलोन डी’ओर पुरस्कारको निम्ति शर्टलिस्ट गरिँदा ईंग्ल्याण्डका जूड बेलिंघम केवल १ वर्ष ४ महिना उमेरका थिए। समग्रमा मेस्सी र रोनाल्डोले मिलेर २००८-देखि २०२१-बीच १३ सालमा १२ पल्ट यो पुरस्कार आपसमा बाँड़े। यसपाली मेस्सीसँग रेकर्ड आठौंपल्ट यो पुरस्कार जित्ने मौका हुनेछ। यसपाली उनलाई हालाण्डबाट कड़ा चुनौती प्राप्त हुनेछ, जसले म्यानचेष्टर सिटीबाट ५३ वटा म्याचमा ५२ गोल गरिसकेका छन्। उनलाई गत वर्ष यूएफा प्लेयर अव् द ईयर पनि चयन गरिएको थियो। यूरोपेली खेलाड़ीहरूले ५३ पल्ट बेलोन डी’ओर पुरस्कार जितेका छन् जबकि दक्षिण अमेरिकी खेलाड़ीहरूले १३ पल्ट यो पुरस्कार जितेका छन्। यसम अर्जेण्टिना र ब्राजीलका खेलाड़ीहरू मात्र सामेल छन्। जर्ज वेह बेलोन डीओर जित्ने अफ्रिकाका एकमात्र फूटबलर हुन्। उत्तर अमेरिका र एशियाका कुनै पनि खेलाड़ीले यो पुरस्कार जितेका छैनन्।
बेलोन डी’ओर पुरस्कार फ्रान्सको फूटबल पत्रिका फ्रान्स फूटबल-द्वारा हरेक साल दिइन्छ। यो पुरस्कार क्लब र राष्ट्रिय टीमबाट एक सालमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाड़ीलाई दिइन्छ। साल १९५६-मा पहिलोपल्ट यो पुरस्कार स्टेनली म्याथ्यूजलाई दिइएको थियो। त्यहाँदेखि हरेक साल यो पुरस्कार प्रदान गरिन्छ। साल २०१८-देखि महिला फूटबलरहरूलाई पनि यो पुरस्कार दिन थालियो। यस साल यसको ६५औं संस्करण आयोजित गरिनेछ।

About Author

Advertisement