बागडोगरा: बागडोगराको बेङडुबी सेना छाउनीमा एक जना संदिग्ध बङ्गलादेशी युवकलाई सुरक्षा बलले पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम कौशिक विश्वास भएको बताइएको छ।
सूत्रका अनुसार, छाउनीभित्र रेल्वे वागनमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा सेनाको द्रुत प्रतिक्रिया टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनका बयानहरूमा असंगति देखिएको थियो। त्यसपछि उनलाई बागडोगरा प्रहरीलाई बुझाइएको र पुलिसले उनलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा यति कडा सुरक्षा हुँदाहुँदै पनि उनी प्रतिबन्धित क्षेत्रमा कसरी प्रवेश गरे भन्ने विषयमा सेनाको गुप्तचर निकायले अनुसन्धान सुरु गरेको छ।
उल्लेखनीय छ कि यसअघि पनि बेङडुबी सेना छाउनी क्षेत्रबाट धेरै बङ्गलादेशी नागरिकहरू पक्राउ परिसकेका छन्।
पक्राउ परेका व्यक्तिलाई बुधबार अदालतमा पेश गरिनेछ र घटनाको अनुसन्धान जारी रहेको छ।









