रातको २ बजे सुरक्षा प्रबन्ध फेर्न बाध्य बनेका थिए आईबी
नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा लाल किल्लाको प्राचीरबाट आफ्नो पहिलो स्वतन्त्रता दिवसको सम्बोधन गर्नुअघि सुरक्षा प्रोटोकलमा ठुलो बदलाव ल्याएका थिए। पूर्व रक्षा सचिव आरके माथुरले हालै उक्त घटनाको स्मरण गर्दै सुरक्षा अधिकारीहरूको आपत्तिपछि पनि रातको करिब २ बजे बुलेटप्रुफ सिसा हटाउनुपरेको खुलासा गरेका छन्।
पूर्व रक्षा सचिव माथुरका अनुसार, १५ अगस्ट २०१४ अघि उनी तत्कालीन इन्टेलिजेन्स ब्युरो (आईबी) का निर्देशकसँग प्रधानमन्त्री मोदीलाई सुरक्षा व्यवस्थाबारे जानकारी गराउन पुगेका थिए। चांदनी चौकका अग्ला भवनहरूबाट हुनसक्ने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै मञ्चमा बुलेटप्रुफ सिसा राखिएको जानकारी गराउँदा प्रधानमन्त्री मोदीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए।
मोदीले स्पष्ट शब्दमा भनेका थिए, “यदि यो मेरो अगाडि रह्यो भने मैले नागरिकहरूलाई प्रत्यक्ष सम्बोधन गर्न सक्ने छैन।” सुरक्षा अधिकारीहरूले पुन: विचार गर्न आग्रह गरे पनि प्रधानमन्त्रीको अडानपछि १४ र १५ अगस्टको मध्यरात करिब २ बजे उक्त बुलेटप्रुफ सिसा हटाइएको थियो।
भारतको ८०औँ स्वतन्त्रता दिवस समारोहका क्रममा पूर्व रक्षा सचिवले यो प्रसङ्ग सम्झिएका हुन्। यस वर्षको समारोहमा पनि प्रधानमन्त्री मोदी सुरक्षा प्रोटोकलभन्दा फरक शैलीमा देखिए। भाषणपछि उनले विद्यालयका बालबालिका तथा एनसीसी (एनसीसी) क्याडेटहरूसँग भेटघाट गरे। सो क्रममा एक सानी बालिका उनको गोडा छुन झुक्दा टाउकोबाट खसेको टोपीलाई प्रधानमन्त्री मोदी आफैँले उठाएर पुनः लगाइिदएका थिए।









