बिना हिजाब लाइभ प्रस्तुति दिएबापत इरानी गायिका परस्तु अहमदीलाई ७४ कोर्राको सजाय

IMG_03d07def-522f-4256-97d1-a4b18f8a4bad

​तेहरान: इरानमा बिना हिजाब गीत गाएको अभियोगमा प्रसिद्ध गायिका परस्तु अहमदीलाई ७४ कोर्राको सजाय दिइएको छ। सार्वजनिक शालीनताको अपमान गरेको दोषी ठहर गर्दै उनलाई उक्त शारीरिक सजाय दिइएको हो। गायिकाका वकिल मुस्तफा नीलीले सोमबार इरानको कोम सहरमा उक्त सजाय कार्यान्वयन गरिएको पुष्टि गरेका छन्।
​अहमदीसँगै उनको सांगीतिक समूहका अन्य चार सदस्यहरूलाई पनि जनही ७४ कोर्रा हानिएको छ। वकिल नीलीका अनुसार सजाय पाउनेहरूमा गायिका परस्तु अहमदीसहित कन्सर्ट आयोजक मोहसिन लश्करी तथा संगीतकारहरू सोहेल फकीह–नासिरी, अमीन ताहिरी र अमीर–अली पिरनिया रहेका छन्। कोमस्थित एक अदालतले गत जुन महिनामा अनलाइनमार्फत अश्लील तथा अनैतिक सामग्री उत्पादन र प्रकाशन गरेको आरोपमा यी पाँचै जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो।
​यो विवाद सन् २०२४ को डिसेम्बरमा युट्युबमा सार्वजनिक गरिएको एक अनलाइन कन्सर्टको भिडियोसँग जोडिएको छ। कोम सहर नजिकैको ऐतिहासिक देर–ए गचिन कारवाँसरायमा छायाङ्कन गरिएको उक्त भिडियोमा अहमदी पुरुष संगीतकारहरूका साथमा प्रस्तुति दिइरहेकी थिइन्। प्रस्तुतिको क्रममा उनले इरानमा महिलाका लागि अनिवार्य मानिने हिजाब नलगाई कपाल खुला राखेकी थिइन् भने बाहुला नभएको (स्लिभलेस) र काँध खुलेको पोसाक लगाएकी थिइन्। शिया मुसलमानहरूको पवित्र सहर मानिने कोमलाई धार्मिक रूढिवादिताको मुख्य केन्द्र मानिन्छ।
​इरानी कानुनअनुसार महिलाहरूलाई सार्वजनिक रूपमा सांगीतिक प्रस्तुति दिन प्रतिबन्ध छ भने हिजाब र शालीन पोसाक अनिवार्य गरिएको छ। भिडियो सार्वजनिक भएलगत्तै देशको कानुनी र धार्मिक मापदण्डविपरीत ‘अवैध कन्सर्ट’ आयोजना गरेको भन्दै अहमदी र उनको टोलीविरुद्ध मुद्दा दायर गरिएको थियो।
​अदालतले कोर्राको सजायका अतिरिक्त उनीहरू सबैलाई आगामी दुई वर्षसम्म कुनै पनि किसिमको श्रव्य–दृश्य सांगीतिक गतिविधिमा संलग्न हुन तथा देशबाहिर जानसमेत प्रतिबन्ध लगाएको छ। गायिकाका वकिल नीलीले फैसला उल्ट्याउन वा सजाय रोक्न अदालतमा अपिल गरे पनि गत सेप्टेम्बरमा उक्त अपिल खारेज भएको बताए। मानवाधिकारकर्मीहरूले भने यस सजायलाई क्रूर, अमानवीय र अपमानजनक भन्दै कडा निन्दा गरेका छन्।
​सन् २०२२ मा ड्रेस कोड उल्लङ्घनको आरोपमा पक्राउ परेकी २२ वर्षीया कुर्द युवती महसा अमिनीको हिरासतमै मृत्यु भएपछि इरानमा अनिवार्य हिजाबविरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्किएको थियो। त्यसयता तेहरानलगायत विभिन्न सहरका महिलाहरूले सार्वजनिक स्थलमा हिजाब त्यागेर सरकारी नियमको अवज्ञा गर्दै आएका छन्।
​

About Author

Advertisement