बिदाई एवं अभिनन्दन समारोह सम्पन्न

13db9887-ea7a-4931-a889-031c313e34ca

नाम्ची: सोरेङ जिल्लाअन्तर्गत काजी एसएल दाउ ग्याछो उच्चतर माध्यमिक विद्यालयको पेक्षागृहमा आज बिदाई एवं अभिनन्दन समारोह सम्पन्न भएकाे छ। साे कार्यक्रम मङ्गलबारेकाे बिदाई एवं अभिनन्दन समाराेह समितिले गरेकाे हाे। यस कार्यक्रममा समितिले काजी एसएल दाउ ग्याछो उच्चतर माध्यमिक विद्यालयकी अवकाशप्राप्त प्राचार्य कमलादेवी राई, सहायक पाठ्यक्रम अधिकारी (राई भाषा) सुरज राई, डीएम बस्नेत (शिक्षिका) अनि विदुर गुरूङ (समाजसेवक)-लाई अभिनन्दन जनायो।

समारोह समितिका संयुक्त सचिव वीरबहादुर गुरूङले आमन्त्रित अतिथिगणमा स्वागत जनाउँदै बिदाई एवं अभिनन्दन समारोह समिति खोल्नु पछाडिको उद्देश्य र लक्ष्यबारे जानकारी गराए। हालसम्म गुठीले व्यक्तिगत स्वार्थपूर्तिमा नरहिकन काम गरेको भन्दै सबै एकतामा बसेर समाजको सेवामा लागेर समाज अनि आउने पिँढ़ीलाई सही दिशानिर्देश गर्नुपर्ने कुरा बताए।

अभिनन्दित व्यक्तित्वहरूमा सबैले आ-आफ्नो अनुभव र अनुभूतिहरू साझा गरेका थिए। यस क्रममा अवकाशप्राप्त प्राचार्य कमला देवी राईले समारोह समितिप्रति आभार व्यक्त गरिन्। मैले मङ्गलबारेमा आएर जे-जति गरे ईश्वरलाई सधैँ अघि राखेर गरे भन्दै मङ्गलबारेको पवित्र तीर्थभूमिमा आएर आफ्नो जागिरको अन्तिम क्षण व्यतित गर्न पाउँदा भाग्यमानी महसुस गरेकी बताइन्। अवकाशप्राप्त व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्य साथै साहित्य जस्तो विषयमा मङ्गलबारेले गरेको उन्नति र प्रगतिबारे पनि अवकाशप्राप्त प्राचार्य राईले शुभकामना व्यक्त गरिन्। अफ्रा मेडेरिन राई, प्रणीता तामाङ, रूबिना राई अनि मिङमा शेर्पाले सांस्कृतिक प्रस्तुति दिएको यस अभिनन्दन समारोहमा अभिनन्दित व्यक्तित्वहरूलाई माल्यार्पण, अङ्ग वस्त्र, पुष्पगुच्छा र उपहार आदिद्वारा अभिनन्दन जनाइयो।

यस अभिनन्दन समारोहमा अभिनन्दन समारोह समिति मङ्गलबारेका सदस्य पासाङ थेण्डुप भोटियाले धन्यवाद ज्ञापन दिएका थिए। कार्यक्रममा महकुमा अधिकारी एवं साहित्यकार सन्तोष आले, साहित्यकार चक्रधर रूछेन्बुङ, अवकाशप्राप्त शिक्षक उगेन्द्रराज दोङ, खण्ड विकास अधिकारी वसन्त मोक्तान, शिक्षक जीएम थापा, अवकाशप्राप्त अधिकारी डीएम मोक्तान आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement