सिड्नी: आगामी सिजनदेखि बिग बास लिग (बीबीएल) मा स्लो ओभर रेट नियन्त्रण गर्न नयाँ नियम लागू हुने भएको छ। पुरुष र महिला दुवै प्रतियोगितामा निर्धारित समयमा २० ओभर पूरा गर्न नसके बाँकी ओभरमा पावरप्लेजस्तै बाउन्ड्रीबाहिर बढीमा दुई जना फिल्डर मात्र राख्न पाइनेछ।
हाल पुरुष बीबीएलमा २० ओभर पूरा गर्न ८४ मिनेट र महिला बीबीएलमा ७८ मिनेट ४५ सेकेन्डको समय तोकिएको छ। नयाँ नियमअनुसार निर्धारित समय नाघेपछि बाँकी ओभरमा अधिकांश फिल्डरलाई ३० यार्ड सर्कलभित्र राख्नुपर्नेछ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका लागि एक अतिरिक्त फिल्डरलाई सर्कलभित्र ल्याउने व्यवस्था थियो। तर बीबीएलको नयाँ प्रावधानले बलिङ गर्ने टोलीमाथि थप दबाब सिर्जना गर्नेछ। नियम लागू भएपछि ढिलो ओभर रेटको प्रत्यक्ष फाइदा ब्याटिङ टोलीले पाउने भएकाले खेलको गति कायम राख्न बॉलरहरू थप सचेत हुनुपर्नेछ।





