सुकना: सुकुना साहित्यिक सांस्कृतिक संस्थानद्वारा प्रत्येक महीना सम्पन्न हुने सुकना संवादको यस नयाँ वर्ष २०२४ को प्रथम प्रकरण आज ५ फरवरी सोमबारको दिन सुकनास्थित बिकन पब्लिक स्कूलको प्राङ्गणमा स्कूलकै प्राचार्य अभिषेक दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यार्थीहरूको ह्रदयमा शिक्षासंगै मातृभाषा, साहित्य सम्बन्धी सचेतना गराउने उद्देश्यले बिकन पब्लिक स्कूलमा राखिएको सुकना संवाद कार्यक्रममा स्कूलका प्राचार्य, शिक्षण- अशिक्षणकर्मी लगायत सम्पूर्ण विद्यार्थीहरू सहभागी भएका थिए। संस्थानका मूल सचिव जे. बी. बस्नेतले संस्थानको परिचय एवम् यसका गतिविधिहरूबारे जानकारी दिदैँ संस्थान स्थापना भएको पच्चिस वर्ष पूरा भएकोमा यस वर्ष रजत जयन्ती समारोह देशव्यापी रुपमा विविध कार्यक्रमहरूको साथमा पालन गरीरहेकोले सुकना संवादको यो प्रकरण पनि रजत जयन्तीकै एक कार्यक्रम रहेको अनि आगामी दिनमा धारावाहिक रुपमा यस्ता कार्यक्रमहरू अन्य स्कुलतिर पनि गरिने कुरो जनाए। संस्थानका सांस्कृतिक सचिव के.के. विश्वकर्माले आफ्नो सम्बोधनमा विद्यार्थीहरू सानैदेखि अनुशासित र सुसंस्कारी हुनुपर्ने कुरो बताउदै गुरुप्रतिको श्रद्धा कस्तो हुनुपर्छ सो बारेको आफ्नो लेख विद्यार्थीहरूलाई सुनाए। संस्थानका सहसचिव नवराज छेत्रीले स्वरचित कविता पाठ गर्दै विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा मेहनती भई अघि बढ्ने आह्वान गरेका थिए। संस्थानका साहित्य विभागका सचिव प्रा. मेघनाथ छेत्रीले विद्यार्थीहरूलाई शुद्ध हिज्जे लेखन बारेमा अवगत गराएका थिए। उनले विद्यार्थीहरूमा भाषा-साहित्य विषयमा केही हाजिरी जवाब पनि गराएका थिए, जसमा विद्यार्थीहरूले उत्साहका साथ भाग लिएका थिए। यस अवसरमा स्कूलका विद्यार्थीहरूले कविता आवृत्तिहरू पनि गरेका थिए। कविता आवृति र हाजिरी जवाबमा भाग लिने विद्यार्थीहरूलाई कलम पनि प्रदान गरेका थिए। सुकना साहित्यिक सांस्कृतिक संस्थानले सुकुना संवाद कार्यक्रममा स्कूलका विद्यार्थीहरूलाई सहभागी गराएकोमा स्कूलका प्राचार्य अभिषेक दाहालले आभार प्रकट गरेका थिए। स्कूल प्राङ्गणमा सुकना संवाद कार्यक्रमको आयोजनाहेतु बिकन पब्लिक स्कूल सुकनाले दिएको साथ र सहयोगको लागि संस्थानको पक्षमा साहित्य विभागका सचिव मेघनाथ छेत्रीले स्कुल परिवारप्रति धन्ययाद यापन गरेका थिए।










