बाबा साहेबका आदर्शलाई आत्मसात गर्न राज्यपालको आह्वान

photocollage_20263801654609

गान्ताेक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले भारत रत्न डा. भीमराव अम्बेडकरको १३५औँ जयन्तीको अवसरमा सिक्किमवासीलाई शुभकामना व्यक्त गरेका छन्। उनले संविधानका शिल्पकार एवं सामाजिक न्यायका पुरोधा बाबा साहेबका आदर्शलाई दैनिक जीवनमा आत्मसात गर्न सबैमा आग्रह गरेका छन्।
​आफ्नो शुभकामना सन्देशमा राज्यपाल माथुरले राष्ट्रको प्रगति तब मात्र सम्भव छ जब पूरा समाज एकजुट भएर अघि बढ्छ भन्ने डा. अम्बेडकरको धारणा रहेको स्मरण गरे। एक समावेशी समाजको निर्माणका लागि बाबा साहेबले गरेको अथक प्रयास र प्रतिबद्धता राष्ट्रकै लागि अनुपम उदाहरण रहेको उनले उल्लेख गरे।
​राज्यपालले बाबा साहेबले सदैव समाजका पछौटे र वञ्चित वर्गलाई मूलधारमा ल्याउन सङ्घर्ष गरेको चर्चा गर्दै उनको योगदानले भारतीय समाजमा समता, ममता र एकता स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। सिक्किमको चर्चा गर्दै उनले यहाँको विविधता र विभिन्न समुदायबीचको सद्भाव नै राज्यको सबैभन्दा ठूलो शक्ति भएको धारणा राखे।
​सबै नागरिकलाई सामाजिक समरसतालाई बढावा दिन र संविधानमा निहित मूल्यहरूको रक्षा गर्न आग्रह गर्दै राज्यपालले न्यायपूर्ण र समतामूलक भारत निर्माणमा योगदान दिन सबैलाई आह्वान गरेका छन्।

About Author

Advertisement