सिलगढी: भारतीय विमानपत्तन प्राधिकरणले केन्द्र सरकारको १२ वर्ष पुगेको अवसरमा बागडोगरा हवाई अड्डामा एउटा ठुलो पहल गर्ने घोषणा गरेको छ। यसै अन्तर्गत, आउँदो १५ जूनका दिन हवाई अड्डामा धूमधामसँग ‘यात्री सुविधा दिवस’ पालन गरिने भएको छ।
शनिबारको दिन एउटा प्रेस कन्फरेन्सलाई सम्बोधन गर्दै बागडोगरा हवाई अड्डाका डाइरेक्टर नवीद नाज़िम ज्यूले यो कुरा बताउनुभयो। उहाँले भन्नुभयो कि उत्तर बंगाल अनि उत्तर-पूर्वी राज्यहरूलाई जोड्नमा बागडोगरा हवाई अड्डाको कत्रो ठुलो हात छ। हाम्रो यो भेग ‘चिकन नेक’ कोरिडोरमा पर्ने भएकोले गर्दा यसको स्ट्रेटेजिक (सामरिक) महत्त्व पनि निकै धेरै छ।
हवाई अड्डाको प्रगतिको कुरा राख्दै नाज़िम ज्यूले भन्नुभयो कि यहाँ फ्लाइटहरूको संख्या एकदमै बढेर गएको छ। सन् २०१४ तिर यहाँबाट जम्मा ४०० जति फ्लाइटहरू चल्ने गर्थे, तर अहिले यो संख्या बढेर झन्डै ८६० पुगिसकेको छ। यसको साथसाथै यात्रीहरूको भीड़ पनि निकै बढेको छ।
यस ‘यात्री सुविधा दिवस’ को मौकामा यात्रीहरू र एयरपोर्टका स्टाफहरूका लागि धेरै वटा कार्यक्रमहरू राखिएका छन्। जसमा हेल्थ चेक-अप क्याम्प र भ्याक्सिनको सुविधा सामेल छन्। कार्यक्रममा राष्ट्रगान र ‘वन्दे मातरम’ का साथमा कल्चरल प्रोग्रामहरू पनि हुनेछन्। एयरपोर्टका ट्याक्सी ड्राइभरहरूका लागि सित्तैमा आँखा जाँच गर्ने क्याम्प लगाइनेछ भने एयरपोर्ट सफा राख्ने सफाइकर्मी दाजुभाइ-दिदीबहिनीहरू र अरू स्टाफहरूलाई उनीहरूको राम्रो कामको लागि सम्मान गरिनेछ।











