बाउमावि र भानु मञ्चमा भानु जयन्ती भव्यतासँग पालन

00-1-Bhanu-Jayanti-1

बाग्राकोट: बाग्राकोटमा पूर्वान्हमा बाग्राकोट उच्चत्तर माध्यमिक विद्यालयमा अनि अपरान्हमा भानु मैदानस्थित नवनिर्मित भानुमञ्चमा २०९ औं भानुजयन्ती भव्य ढंगले सम्पन्न भयो। बाग्राकोट उमावि-ले भानुभक्तको औचित्य विद्यार्थीहरूलाई बुझाउन विद्यार्थीमुखी कार्यक्रम आयोजन गरेको थियो। यसै अवसरमा प्रधानाध्यापक सागर शर्माको विशेष तत्परता एवं अजय खड्काको शब्द र गौतम विश्वको संगीतमा विद्यालय-गीत विधिवत रूपमा सार्वजनिक गरियो। 

प्रधानाध्यापक सागर शर्माले आफ्नो वक्तव्यमा आजको दिन विद्यालयको इतिहासमा  स्वर्णिम दिन ठहर गर्दै स्कुल स्थापनाको ७५ औँ वर्षमा पनि विद्यालय-गीत बनिन नसकेको र आज बनेकोमा आफूलाई गर्व लागेको बताए। उनले भने, यो गर्वको क्षण हो। सामूहिक विचारधारा, एकता र संघर्षको प्रतीक बनेको छ आजको दिन। हामी सम्पूर्ण संस्थापकहरूलाई सम्झना गर्दछौँ। स्कूल गीत धुन र शब्दहरूको सँगालो मात्र होइन, यसले विद्यालयको सारलाई प्रतिविम्बित  गर्दछ। यो वर्तमान र भविष्यको परिचय र पहिचानको प्रतीक बन्नेछ भन्ने म सगौरव मान्दछु। भानुजयन्ती कार्यक्रमको आरम्भ शिक्षिकाहरूद्वारा भानुआधारित स्वरचित गीतबाट भएको थियो भने भानुभक्त आचार्यमाथि शिक्षिका कविता शर्माले वार्ता पेश गरेकी थिइन। आफ्नो वक्तव्यमा उनले भानुभक्तलाई नेपाली भाषामा सहज लेखनका लागि तीर्थ कवि ठहर गर्दै नेपाली साहित्यमा साँच्चै भानु नै भएर उदाएको किटान गरिन्। भानुभक्तका कवितामा सामाजिक विद्रोहप्रति चोटिलो व्यंग्य रहेको प्रसङ्ग झिक्दै उनले रामायणको उल्थाका कारण भानुभक्तलाई कहिल्यै बिर्सन नसकिने विचार पोखिन्। यस अवसरमा विद्यार्थीहरूले रामायण पाठ, स्वरचित कविता पाठ, लोकनृत्य, समूह-एकल गीत र एकांकी प्रस्तुत गरेका थिए। विद्यालयका पूर्व शिक्षक प्रभारी निर्मल शर्माले अध्यक्षता गरेको कार्यक्रममा विद्यालय सञ्चालन समितिका सदस्य जेबी छेत्री, मूर्तिकार अमीर सुन्दास, पूर्व विद्यार्थी तथा सङ्गीत-संयोजन गौतम विश्वकर्मा आदिको विशेष उपस्थिति रहेको थियो। स्कुलबाट गत माध्यमिक र उच्चत्तर माध्यमिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका सृर्जना छेत्री र कुमुद यादवलाई सम्मान गरियो। कार्यक्रमको उद्घोषणा शिक्षक रुपेश शर्मा र सोनी लकान्द्रीले गरेका थिए।

यसरी नै अपरान्ह बाग्राकोटको बरगाछस्थित भानुमञ्चमा पनि भानु जयन्ती वरिष्ठ साहित्यकार गोपालसिंह विश्वको सभापतित्व अनि सिक्किमका प्रतिष्ठित लेखक मेघनाथ दाहालको प्रमुख आतिथ्यमा बड़ो धुमधामसँग पालन गरियो। साहित्य परिक्रमा र बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सिक्किम विश्वविद्यालयका शोधार्थी रुद्र छेत्री प्रमुख वार्ताकारका रूपमा उपस्थित थिए। वार्ताकार छेत्रीले भानुभक्त आचार्य नेपाली समाजसँग कसरी जोड़िए भन्ने ऐतिहासिक पृष्ठभूमि केलाए। उनले  नेपाली साहित्य सम्मेलनको स्थापनाले प्रगति/संघर्ष गर्दै जाँदा भानुभक्तलाई पछ्याउन छोड़ेको थिएन भन्ने प्रसङ्ग झिक्दै नेपाली समाजको विकासमा राजनीतिको पनि ठूलो भूमिका रहेको बताए। उऩले भने, हामीले अभावबाट भानुभक्त डोहोऱ्यायौँ । पछि राजनीतिको लागि पनि भानुभक्त चाहियो। भाषा आन्दोलनको शुरुमा भानु जयन्ती जातीय एकीकरणको रूपमा पालन गर्न थाल्यौँ। भारतमा भानुभक्त परम्परा नभएर पर्व भयो। भानु हाम्रो आवश्यकता भए। डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव  रविन खवासले यस अवसरमा लोकार्पित अनन्त श्रेष्ठद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ता र समय’ बारे बोल्दै स्कूले जीवनदेखि अनन्त श्रेष्ठले कविता लेखेको जिकिर गरे। अनन्त आफैं कथा/कविताहरूको शीर्षक हो भनी उनले बताए। खवासले भने, एकताक नेपाली स्कूल खोल्नु सत्ताको विरोध गर्नु जस्तै हुन्थ्यो। अनन्त श्रेष्ठको अगुवाइमा डुवर्समा १७ दिने साइकल ऱ्यालीको आयोजन भएको थियो। अनन्तका कवितामा हाम्रै डुवर्सका जीवन पाइन्छ। यसैक्रममा कवि अनन्त श्रेष्ठले तीन दशकपछि आफ्नो कविता छापिएकोमा खुशी जाहेर गरे। मुख्य अतिथि एमएन दाहालले भने, एउटा समय दार्जीलिङ साहित्यको तीर्थ स्थल थियो। डुवर्सले अहिले भारतीय नेपाली बौद्धिक जगतको भार काँधमा लिएको छ। यो गाउँ (बाग्राकोट)-ले भारतीय गोर्खाहरूको इतिहासमा आफ्नो हस्ताक्षर गरेको छ। यो ठाउँले सिक्किमले जस्तो संसाधन पाएको छैन। यो क्षेत्र बौद्धिक तीर्थ बनोस् भन्दै उनले शुभकामना दिए। नेपाली समाजमा मूर्तिकलाको औचित्य स्थापित गर्ने पहिलो केन्द्र डुवर्स बन्यो। सिक्किमको सन्दर्भमा उनले भने, सिक्किममा राजनीतिले साहित्यलाई यति बेसी ढाकिदियो कि असलमा साहित्यकारहरू दबिएको अनुभव गर्छन्। नेपाली भाषा सम्बन्धी कुनै साहित्य समितिले निरन्तर कुनै काम गरेको छ भने डुवर्स नेपाली साहित्य विकास समितिले गरेको छ। यसलाई राष्ट्रिय पहिचान दिनुपर्छ, उनले थप भने। डुवर्सले सर्वभारतीय स्तरमा कार्यक्रम गर्नुपर्छ भन्ने सुझाउ राख्दै दाहालले डुवर्सले गरेको भाषाको आन्दोलनलाई बिर्सन नसकिने बताए। यसैगरी सभाध्यक्ष गोपालसिंह विश्वले पनि भानुभक्तको सन्दर्भ र पृथ्वीनारायणको उदय-सन्दर्भ कोट्याउँदै नेपाल र अंग्रेजको युद्ध चलिरहेको बेलामा भानुभक्तको जन्म भएको बताए। भानुभक्तको उदयकालका सन्दर्भहरू, रामायणका काण्डहरू पूरा गरेको सन्दर्भ जिकिर गरे।  अवगत गराइन्छ, उक्त कार्यक्रमबीच जिल्ला परिषद निर्वाचनमा विजयी बनेकी भानुपार्क निर्माणमा मुख्य पहल गरेकोमा श्रीमती सलिना छेत्री, माध्यमिक-उच्च माध्यमिक परीक्षाका टपर सृजना छेत्री र कुमुद यादववाई सम्बर्द्धना जनाइयो। कार्यक्रममा ज्योत्स्ना घतानीले स्वरचित कविता पाठ गरिन्। बाग्राकोट सांस्कृतिक मञ्चद्वारा मारुनी नृत्य र समूहगीत, बाग्राकोट टीजी प्राइमरी स्कुलबाट उद्बोधन गीत, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयबाट नृत्य अनि उदीयमान गायिका शिल्पा थापाको एकल गीत प्रस्तुतिले कार्यक्रममा मोहकता थपेको थियो। अजय खड़्काले स्वागत वक्तव्य राखेको कार्यक्रमलाई बिनु राईले सञ्चालन गरेका थिए। यस अवसरमा वरिष्ठ साहित्यकारद्वय अशोक रोका र शङ्कर प्रधान, कथाकार एवं बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष मदन खड़्का, डुवर्स नेपाली साहित्य विकास समितिका कोषाध्यक्ष राजेश प्रधान, शिक्षक रतन मंगर, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, जलपाइगढ़ी जिल्ला परिषद्की पूर्व कर्माध्यक्ष सलिना छेत्री आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement