बाउमाविद्वारा शैक्षिक क्षेत्रमा नौलो पहलको शुरुआत

00-IMG-20221217-WA0120

सङ्गोष्ठीको परिकल्पनालाई पाइलट प्रोजेक्टको रूपमा अघि बढ़ाउनेछौं: सञ्चवीर सुब्बा

बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-ले एउटा ऐतिहासिक शैक्षिक सङ्गोष्ठी आयोजित गरेर यस क्षेत्रको शैक्षिक परिवेशमा नयाँ तरंग ल्याएको छ। ‘कोभिड-१९ पछिका दिनहरूमा देखापरेका विद्यार्थीहरूको शैक्षिक स्तर: एक अववोकन र समाधान’ -माथि एक महत्त्वपूर्ण शैक्षिक सेमिनार आयोजित गरेर बाउमावि-ले शिक्षा क्षेत्रमा विद्यार्थी मात्र होइन, शिक्षकहरू समेत संवेदनशील, अद्यतन र दक्षता विकास कार्यमा गतिशील भएर समाज र राष्ट्रको भविष्य निर्माणमा हस्तक्षेपकारी योगदान दिनुपर्ने आवश्यकता औंल्याएको छ। सङ्गोष्ठीलाई कालेबुङका जिल्ला स्कूल निरीक्षक (डीआई) रवीन्द्रनाथ मण्डलले अध्यक्षता गरेका थिए भने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-का उपप्रमुख कार्यपाल तथा शिक्षा विभाग प्रमुख सञ्चवीर सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विभिन्न विद्यालयका सातजना अनुभवी तथा विषयविद् (सब्जेक्ट एक्सपर्ट) शिक्षकहरूले स्रोतवक्ताका रूपमा आ-आफ्नो कार्यपत्र पेश गरे।

जीटीए, तराई र डुवर्स क्षेत्रका करिब तीन दर्जन स्कूलहरूले सङ्गोष्ठीमा सहभागिता जनाएका थिए भने दुई सयभन्दा अधिक शिक्षक-शिक्षिका एवं विद्यालय प्रमुखहरू यो शिक्षा सङ्गोष्ठीमा सहभागी बनेका थिए। विभिन्न क्षेत्रका विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिले सङ्गोष्ठी आयोजनको आवश्यकता र महत्त्वलाई उजिल्याएको थियो। विद्यालयले यो सङ्गोष्ठी आफ्नो दुई वर्षीय कौस्तुभ जयन्तीको महत्वपूर्ण कार्यसूचीकै योजनाअनुरूप आयोजन गरेको हो। आगामी २०२४ मा बाउमावि-ले आफ्नो स्थापनाको  ७५औं वर्षगाँठ परिपूर्तिको उपलक्ष्यमा भव्य कार्यक्रम आयोजन गर्नेछ, जसको शुरुआत केही महिना अघिबाट भइसकेको छ।

 “सङ्गोष्ठीको परिकल्पनालाई पाइलट प्रोजेक्टकै रूपमा अघि बढ़ाएर लानेछौं। बाग्राकोट उच्चतर माध्यमिक विद्यालयको यो योजनालाई जीटीएले साथ र सहयोग दिनेछ। जीटीएले पहाड़को शिक्षा व्यवस्थामा सुधारका लागि एउटा कमिटी बनाएको छ। हामी कमिटीको सुझावलाई अघि बढ़ाएर लानेछौं। यस विषयमा फेरि बसेर रणनीतिहरू बनाइनेछ”, जीटीएका उपप्रमुख कार्यपाल सञ्चवीर सुब्बाले आफ्नो छोटो सम्बोधनमा भने। सङ्गोष्ठी अध्यक्ष तथा कालेबुङका डीआई रवीन्द्रनाथ मण्डलले सङ्गोष्ठीको आयोजन एउटा महत्त्वपूर्ण र दूरगामी प्रभाव ल्याउने कार्य भएको जिकिर गर्दै बाउमावि-का प्रधानाध्यापक सागर शर्माको मुग्धकण्ठले प्रशंसा गरे। शिक्षकहरूलाई महत्त्वपूर्ण सुझाव दिँदै मण्डलले भने, “डीआई र हेडमास्टरले ठेलेर मात्र शिक्षकहरू दक्ष हुन सक्दैनन्। यसका निम्ति तपाईंहरू स्वयं संवेदनशील हुनुपर्छ, आफ्नो क्षमता विकास गर्नुपर्छ अनि नानीहरूका भविष्य राम्रो बनाउन सोच्नुपर्छ। तपाईंहरू समाज र राष्ट्रनिर्माता भएकोले आफ्नो जिम्मेवारीलाई गम्भीरतासँग लिएर अघि बढ्नुपर्छ।” उनले शिक्षालाई ‘मन्दिर’ र शिक्षकलाई ‘पुजारी’-को संज्ञा दिए। सङ्गोष्ठीका परिकल्पनाकार बाउमावि-का प्रधानाध्यापक सागर शर्माले सङ्गोष्ठीको उद्देश्य, महत्त्व र दीर्घकालीन लक्ष्यमाथि प्रकाश पार्दै प्राक्कथन तथा बीज वक्तव्य राखेका थिए। जीटीएलाई उनले महत्त्वपूर्ण सुझावहरू पनि दिए। जीटीएका जम्मै स्कूल र अनुभवी शिक्षकहरूलाई संलग्न गराउँदै नानीहरूका लागि पर्याप्त अध्ययन सामग्री उपलब्ध हुनेगरी एउटा डिजिटल प्लेटफर्म बनाउनुपर्ने, जीटीएले शिक्षकहरूका लागि यस्ता अभिमुखी (ओरिएन्टेसन)-हरू ब्लक तथा युनिट स्तरसम्म नियमित रूपमा आयोजन गरी शिक्षकहरूलाई दक्षता प्रदान गर्नुपर्ने सुझाव राखे।

उनले कमिलाको उदाहरण दिँदै कमिलाले सधैँ टिम वर्कमा काम गर्ने अनि कसैको निर्देशन नपर्खिने दृष्टान्त प्रस्तुत गरे भने कर्मशील, प्रतिबद्ध र संवेदनशील भएर शिक्षकहरूले नानीहरूमा सही ज्ञान र आदर्श स्थापित गर्नसक्ने विश्वास प्रकट गरे। यस अवसरमा कालेबुङका विधायक रूदेन सादा लेप्चा र जीटीएका सभासद तथा पीडब्ल्यूडी एवं उद्योग विभाग, जीटीएका प्रभारी कार्यकारी सदस्य रतन थापाले सङ्गोष्ठी सफलताका लागि दिएका शुभकामना सन्देश भिडियोहरू प्रोजेक्टरबाट प्रसारित गरिएको थियो। सङ्गोष्ठीमा सातजना स्रोतवक्ताले कार्यपत्र प्रस्तुत गरे।  माध्यमिक स्तरका सातवटा विषयमा सातजना अनुभवी, वरिष्ठ एवं विषयविद् स्रोतवक्ता शिक्षकहरूका प्रभावकारी प्रस्तुतिले सङ्गोष्ठीको माहौललाई गहन र प्रभावोत्पादक बनाएको थियो। सेन्ट जर्ज उच्चतर माध्यमिक विद्यालयका सहशिक्षक भानु अधिकारी (नेपाली), कुमुदिनी होम्स उच्चतर माध्यमिक विद्यालयकी सहशिक्षिका श्रीमती इन्दु राई (इतिहास), अलगड़ा उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय प्रधान (भौतिक विज्ञान), युद्धवीर उच्चतर माध्यमिक विद्यालयका सहशिक्षक प्रेमकुमार मुखिया (अङ्ग्रेजी), गान्धी मेमोरियल उच्चतर माध्यमिक विद्यालय, बागडुग्राका प्रधानाध्यापक डा. सुमन निरौला (जीव विज्ञान), सेन्ट फिलोमिना उच्चतर माध्यमिक विद्यालयका सहशिक्षक हरि दाहाल (गणित) अनि बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका सहप्रधानाध्यापक अमित थापा (भूगोल) -ले आ-आफ्नो सब्जेक्टमा गहन वार्ता प्रस्तुत गरे। स्रोतवक्ताहरूले विद्यार्थीहरूभन्दा बढ़ी शिक्षकहरू ज्ञान, कर्म र संवेदनशीलताको क्षेत्रमा बढ़ी गम्भीर हुनुपर्ने आवश्यकतामाथि जोड़ दिएका थिए। वक्ताहरूले शिक्षक विरादरीकै पक्षमा एकप्रकारले आत्मविवेचना नै गरे। वार्ता तथा कार्यपत्रहरूमाथि तीनजना टिप्पणीकारहरूले आ-आफ्ना विचार र सुझाव राखेका थिए। अम्बियोक उच्च माध्यमिक विद्यालयका सहशिक्षक विजय ब्लोन, लोले साम्पु उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक रेकमणि प्रधान र गान्धी मेमोरियल उच्च माध्यमिक विद्यालय, बागडुग्राका सहशिक्षक वसन्त थापाले सङ्गोष्ठीका कार्यपत्र अनि आयोजनमाथि महत्त्वपूर्ण मन्तव्य, टिप्पणी र सुझावहरू दिए। यसैगरी, ग्रिफिथ्स उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक भीम प्रधानले संक्षिप्त मन्तव्य राख्दै विद्यालयको कामको सराहना गरे। यी सबै वार्ता र कार्यपत्रहरूलाई सङ्कलन तथा सम्पादन गरेर पुस्तकको रूप दिने योजना पनि विद्यालयको रहेको प्रधानाध्यापक शर्माले जानकारी दिएका छन्। स्रोतवक्ता र विभिन्न विद्यालयका प्रमुखहरूलाई आयोजक विद्यालयका प्रधानाध्यापकका बाहुलीबाट स्मृतिचिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो।

कार्यक्रममा वरिष्ठ शिक्षिका गङ्गादेवी शर्माले स्वागत वक्तव्य राखेकी थिइन् भने शिक्षिकाहरूले सरस्वती बन्दना प्रस्तुत गरेका थिए। गैरीवास उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम सुवेदीले कविता वाचन गरे भने विद्यालयका सहशिक्षकद्वय अमित गुरुङ र रोमन प्रधानले ‘कौन बनेगा शिक्षक’ शो -लाई ‘कौन बनेगा करोड़पति’-कै शैलीमा नाटकीय रोचकता प्रदान गर्दै नौलो प्रस्तुति दिएका थिए। कार्यक्रममा बाउमावि-का छात्राहरू अंशिका अनि साथीहरू र महिमा अनि साथीहरूले सामूहिक नृत्य, छात्रा एलिना सुनारले एकल गीत अनि अम्बियोक उच्च माध्यमिक विद्यालयका सहशिक्षक बिनम रनपहेंलीले एकल गीत प्रस्तुत गरे। कार्यक्रमलाई सहशिक्षक रूपेश अनि प्रधानाध्यापक सागर शर्माले संयुक्त रूपमा सञ्चालन गरेका थिए।

About Author

Advertisement