बर्खामा कालापानीको जीवन बिताउन बाध्य फागु गाउँ फर्सीटारका वासिन्दाहरु

गोरुबथान (महेश्वर प्रधान): गोरुबथान खण्डको एउटा सानो गाउँ हो फागु ,फर्सीटार। सोमबारे बजारबाट करीब आठ नौ किलोमिटर टाडामा स्थित छ फर्सीटार। तर जब हात्ती सुढे पानी पर्छ तब यस गाउँका वासिन्दाहरु न त सोमबारे बजार गोरुबथान नै आउन सक्छन् न त पत्थरझोडा ओदलाबाडी नै जान सक्छन्। किनकि सोमबारे गोरुबथान आउनलाई उनीहरुले फागु खोला तरेर आउन पर्छ।पत्थरझोडा भएर ओदलाबारी जानलाई रुङदुङ खोला तरेर जान पर्छ। हिजो रातीदेखि अबिरल वर्षाले खोलाको जलस्तर ह्वात्तै बडेको छ। आज बिहान यस गाउँका विद्यार्थी नानीहरु विद्यालय आउन ठुलो समस्या भयो। सधै झै पिक अपमा चडेर फागु खोलासम्म आइपुग्दा खोला बडेर डरलाग्दो रुपधारण गरिसकेको थियो। पत्थर झोडा भएर जाने कोशिश गर्दा फागु खोला भन्दा डरलाग्दो रुप धारण रुङदुङ खोलाले गरेको थियो।

विद्यार्थी नानीहरु ठुलो धर्मसङ्कटमा परे। विद्यालयमा अनुपस्थित हुनु पनि केही विद्यालयहरुमा परीक्षा चलिरहेको छ। यस्तोमा अभिभावकहरुले आफ्नो ज्यान हत्केलामा राखेर नानीहरुलाई खोला तारे। नानीहरु पानीमा रुझ्दै भिज्दै विद्यालय गएका छन् तर भरे फेरि घर फर्कनु पनि त छ। यस्तोमा अभिभावकलाई चिन्ता पर्नु स्वाभाविकै हो।सम्बन्धित निकाय, क्षेत्रिय सरकारले यस विषयमा नजर पुर्याई चाडो भन्दा चाडो यस खोलामाथि पुल निर्माणको कार्य थालनी गरिदिए फर्सीटारको यो समस्या सदाको लागि समाधान हुने थियो। नत्र त पानी पर्यो कि मनमा पीर पर्न थाल्छ फर्सीटारबासीको।

About Author

Advertisement