बन्दना अनि प्रताप चिया बगान मालिकका एजेन्ट हुन्: जेबी तामाङ

IMG-20221206-WA0372.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सभापति जेबी तामाङले बन्दना अनि प्रताप चियाबारीको मालिक पक्षको एजेन्ट हुन् भनी आरोप लगाएका छन्। तामाङले बन्दना राई र प्रताप खातीमाथि गम्भीर आरोप लगाउँदै उनीहरु मालिकको पैसामा हवाई जहाज चडेर आउँछन्। मालिकले पालेर राखेका हुन् तिनीहरूलाई भनी बताएका छन्। खरसाङ महकुमा अन्तर्गत लङभ्यु चिया कमानलाई खोल्ने पहलमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापा, ट्रेड युनियनका नेतृत्वहरुको साथमा कमान पुगेका थिए। श्रमिकहरूलाई सम्बोधन गर्ने क्रममा ट्रेड युनियनका नेता जेबी तामाङले भने, “चिया बगानका मालिकहरुको शोषण ब्रिटिशको शोषणभन्दा डरलाग्दो छ। बत्ती काटिएको छ। बत्तीको बील तिर्नु नसक्ने मालिकले श्रमिकको करोडौं पैसा तिर्छ?”
तामाङले बन्दना राई अनि प्रताप खातीमाथि गम्भीर आरोप लगाउँदै भने, “जुन दिनदेखि बन्दना राई अनि प्रताप खातीहरु कमान पस्यो त्यो दिनदेखि कमानको हालत झन खराब भएर गएको छ। किनभने उनीहरुले मालिकलाई टेवा दिने काम गरेको छ। मालिकको पैसामा हवाई जहाज चढेर आउँछ। मालिकले पालेर राखेका हुन् तिनीहरूलाई। कुन म्यानेजरलाई बन्दना राई अनि प्रताप खातीहरुले पक्राउनु सक्यो?”
कमानको समस्या समाधान गर्नु कुनै नेता अघि नआएको भन्दै उनले भने, “हामीले जिताएर पठाएको सांसद राजु विष्ट जो टी बोर्डका सदस्य पनि हुन् आजसम्म हाम्रो समस्या समाधान गर्नु आयो? जो पनि आउँछन् भड्काउँछन् मात्र तर समस्याको समाधान कसले दिने? हामी थप्पडी मार्ने मात्र भएछौं। पञ्चायत भोट आउँदैछ। अहिले नआउने नेताहरु फेरि आउनेछन्। हाम्रो विधायक बीपी बजगाईं कहाँ हरायो?”
उनले थप भने, “श्रमिकहरूको दुःखमा एक साथ उँभिने दार्जीलिङको कुनै नेताहरु पनि छैनन्। म उनीहरूलाई स्याल पार्टी भन्छु। आज हामी बोलेका छौं, भोलिदेखि उनीहरू पनि स्याल झैं कराउन थाल्छन्। श्रमिकको दुःखको समय उभिने एक मात्र नेता अनित थापा हुन्। श्रमिकहरू पार्टीमा विभाजित हुनुहुँदैन। हामी श्रमिक हौं, श्रमिक एकतामा बसौं।”

About Author

Advertisement