सिलगढी। केन्द्र सरकारले ११ पहाडी जातिलाई अनुसूचित जनजातिको दर्जा दिन चाहेमा एक महिनाभित्र गर्न सक्छ। सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले मंगलबार सिलगढीमा एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। यद्यपि उनले छुट्टै उत्तर बङ्गाल राज्य वा गोर्खाल्याण्डको विषयमा टिप्पणी गर्न अस्वीकार गरे। साथै उनले गोर्खाको विकासको मागलाई लिएर केन्द्रमा पुग्ने पनि बताए।पत्रकारहरुसँग कुरा गर्दै सिक्किमका पूर्व मुख्यमन्त्रीले सिक्किम राज्यलाई चीन, नेपाल, भुटान र बंगलादेशजस्ता अन्तर्राष्ट्रिय सिमानाले घेरेको हुनाले सुरक्षाको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको बताउनु भयो। साथै उनले वर्तमान सिक्किम सरकारको भूमिकाप्रति आक्रोश व्यक्त गर्दै २५ वर्ष सिक्किमको सत्तामा रहँदा विकास भएको तर अहिले काम नभएको बताए। यसका साथै सिक्किम बचाउन र लोकतन्त्रको पुनर्स्थापनाका लागि पनि आन्दोलन सुरु गर्ने उनले बताए।










