बङ्गाल पर्यटनमा नयाँ युगको सुरुवात

FB_IMG_1781806626203

सरकार र पर्यटन व्यवसायीहरूबीच कोलकातामा ऐतिहासिक बैठक, पाँचवटा रणनीतिक प्राथमिकताहरू घोषणा

कोलकाता: बङ्गालको पर्यटन क्षेत्रलाई नयाँ गति दिँदै एउटा ऐतिहासिक पहल सुरु भएको छ। पर्यटन विभागका माननीय मन्त्री डा. शङ्कर घोषले पदभार ग्रहण गरेको पाँचै दिनभित्र राज्यका प्रमुख राष्ट्रिय अनि क्षेत्रीय पर्यटन र हस्पिटालिटी एसोसिएसनका प्रतिनिधिहरूसँग पहिलो परामर्श बैठक डाकेका छन्। कोलकातामा आयोजित यस महत्त्वपूर्ण बैठकमा माननीय राज्यमन्त्री सुश्री पूर्णिमा चक्रवर्ती, एडिसनल चीफ सेक्रेटरी वरुण कुमार राय (आईएएस), पर्यटन निर्देशक श्री सौमित्र शङ्कर सेनगुप्ता लगायत विभागका उच्च अधिकारीहरू र पर्यटन उद्योगका अगुवाहरूको उपस्थिति रहेको थियो। यस बैठकको मुख्य उद्देश्य बङ्गाल पर्यटनलाई आर्थिक विकास र रोजगारीको मुख्य आधार बनाउनका लागि एउटा शर्ट-टर्म एक्सन प्लान र लङ-टर्म डेभलपमेन्ट रोडम्याप तयार गर्नु हो।
​बैठकमा माननीय मन्त्री डा. घोषले बङ्गाल पर्यटनको विकासका लागि ‘एक्सपिरियन्स बङ्गाल २.०’ अन्तर्गत पाँचवटा रणनीतिक प्राथमिकताहरू सार्वजनिक गरे। पहिलो प्राथमिकता सम्भावनाबाट प्रदर्शनसम्म रहेको छ, जसले ठोस नीतिगत सुधार, राम्रो पूर्वाधार र सही तथ्याङ्कद्वारा पर्यटन क्षेत्रमा स्पष्ट परिणाम ल्याउने लक्ष्य राख्छ। दोस्रो प्राथमिकता सबैका लागि पर्यटन हो, जसले देश-विदेशका उच्च-मूल्यका पर्यटकहरूलाई आकर्षित गर्नुका साथै समाजका हरेक वर्गका लागि पर्यटनलाई किफायती र सुलभ बनाउने कुरा सुनिश्चित गर्छ। तेस्रो प्राथमिकतामा बङ्गाल ब्रान्डको पुनर्जन्म रहेको छ, जसले डिजिटल प्रविधि प्रयोग गरेर बङ्गाललाई जिम्मेवार पर्यटनको देशकै प्रमुख गन्तव्य बनाउनेछ। चौथो प्राथमिकता पूर्वको प्रवेशद्वार हो, जसले हवाई, रेल, सडक र नदी यातायातलाई बलियो बनाएर पश्चिम बङ्गाललाई पूर्वी, उत्तर-पूर्वी भारत र छिमेकी देशहरूको प्रवेशद्वार बनाउनेछ। पाँचौँ प्राथमिकता प्रगतिका लागि साझेदारी हो, जसले सरकार, लगानीकर्ता, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य बढाएर व्यापार-व्यवसाय गर्न सजिलो वातावरण अर्थात् ‘ईज अफ डुइङ बिजनेस’ लाई बढावा दिनेछ।
​यस बैठकका महत्त्वपूर्ण निर्णयहरूमा राज्यका सम्पूर्ण पर्यटन नीतिहरूलाई एउटै छातामुनि ल्याउन ‘वेस्ट बङ्गाल टुरिजम मास्टर पोलिसी’ को प्रस्ताव राखिएको छ। यसका साथै पर्यटन क्षेत्रलाई उद्योगको दर्जा दिनका लागि आवश्यक नियम र प्रोत्साहनहरू लागू गरिने भएको छ। बैठकमा रिभर टुरिजम, हेरिटेज टुरिजम, एड्भेन्चर टुरिजम र मेडिकल टुरिजम जस्ता उच्च सम्भावना बोकेका विशेष क्षेत्रहरूलाई प्राथमिकता दिने कुरामा जोड दिइयो। पर्यटन परियोजना, लगानी र प्रवर्द्धनका प्रस्तावहरूलाई चाँडो र पारदर्शी ढङ्गले अघि बढाउन विभागभित्र एउटा ‘स्पेशल टुरिजम फेसिलिटेशन सेल’ गठन गरिएको घोषणा पनि मन्त्री महोदयले गरे। अन्तमा, आगामी योजनाहरूलाई मूर्त रूप दिनका लागि सबै पर्यटन एसोसिएसनहरूलाई आ-आफ्नो संस्थाको प्रोफाइल र सरकारको पाँच रणनीतिक प्राथमिकताहरूसँग मिल्दो हुने गरी आगामी तीन वर्षको भिजन सहितको प्रिजेन्टेशन बुझाउन अनुरोध गरिएको छ।

About Author

Advertisement