बंगलादेशको महिला फुटवल टिमको कीर्तिमानी यात्रा

IMG-20241031-WA0158

काठमांडू: अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको १४ वर्षमै बंगलादेशले सार्क क्षेत्रमा बलियो बन्दै गएको छ। महिला फुटबल विकासका लागि लगानी गरिरहेको बंगलादेशले ग्रासरूट फुटबल अभियान सञ्चालन गरिरहेको छ।
बंगलादेशले महिला फुटबलमा सन् २००७ देखि मात्र राष्ट्रिय टिम बनाएर खेल्न थालेको थियो। तीन वर्षपछि मात्र बंगलादेशले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्‍यो। सन् २०१० को दक्षिण एसियली खेलकुदमा नेपालविरूद्ध खेल्दै बंगलादेशको महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो। डेब्यू खेलमा भने बंगलादेशलाई नेपालले १-० गोलले हराएको थियो।
त्यस यता बंगलादेशले महिला फुटबलमा लगातार लगानी गरिरह्यो। सन् २०१६ मा त्यसको परिणाम देखिएको थियो। सन् २०१६ मा एएफसी यू-१६ च्याम्पियनसिप छनोट पार गर्दै बंगलादेशको यू-१६ महिला टिमले इतिहास रचेको थियो। छनोटमा उसले इरान, चाइना ताइपेई, यूएई, सिंगापुर र किर्गिस्तान रहेको समूहमा शीर्ष भएको थियो।
सन् २०१७ मा एएफसी यू-१६ च्याम्पियनसिपमा खेल्ने एक्लो दक्षिण एसियाली टिम बनेको बंगलादेशले समूह चरणमा जापान, अस्ट्रेलिया र उत्तर कोरियासंग प्रतिस्पर्धा गरेको थियो। तीनै खेलमा पराजित हुँदा १५ गोल खाएको बंगलादेशका खेलाडीका लागि अनुभव बटुल्ने ठूलो मौका बन्यो।
समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ३ गोल खाएको बंगलादेश २ गोल गर्न सफल भएको थियो। कुनै समय २-१ ले अघि रहेको बंगलादेशले अन्तिम १२ मिनेटमा २ गोल खाएको थियो।
त्यस यता उमेर समूहका खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन थाले। अनि बंगलादेशको महिला राष्ट्रिय टिम बलियो बन्दै गयो।

सन् २०२१ मा बंगलादेश नेपालसँग मैत्रीपूर्ण खेलका लागि काठमांडू आएको थियो। पहिलो खेलमा नेपाल २-१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकियो।
एक वर्षपछि त बंगलादेशले नेपाललाई घरेलु मैदानमै हराइदियो। सन् २०२२ को साफको फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोलले पराजित गर्‍यो। सो हार नेपालले बंगलादेशसँग बेहोरेको पहिलो हार थियो।
यसपटक बंगलादेश झनै बलियो देखियो। कप्तान सविना खानुत र तोहुरा खातुन उत्कृष्ट लयमा देखिएका थिए। पाँच पटकको च्याम्पियन भारतमाथि ३-१ को जित निकाल्दा तोहुराले दुई गोल गरेकी थिइन्।

About Author

Advertisement