फ्रेञ्च ओपनः सेमिफाइनलमा अल्काराज र जोकोविचबीच भिड़न्त हुने सम्भावना

IMG-20230528-WA0134.jpg

२८ मईः सालको दोस्रो ग्राण्ड स्ल्याम प्रतियोगिता फ्रेञ्च ओपन आजदेखि (आइतवार) शुरु हुनेछ अनि टुर्नामेण्टको ड्र अनुसार शीर्ष वरीयता प्राप्त कार्लोस अल्काराज र दुईपल्टका च्याम्पियन नोवाक जोकोविचबीच सेमिफाइनलमा भिड़न्त हुन सक्छ। विश्व ऱ्यांकिंगमा नम्बर एक खेलाड़ी अल्काराजले आफ्नो अभियानको शुरुवात क्वालीफायर खेलाड़ी विरुद्ध गर्नेछन् जबकि आफ्नो २३औं ग्राण्ड स्ल्याम खिताबको खोजमा रहने जोकोविचले पहिलो राउण्डमा अमेरिकाका एलेक्जेण्डर कोवासेविचको चुनौती स्वीकार्नेछन्। गत वर्ष रेकर्ड १४औं पल्ट रोलाँ ग्यारो (फ्रेञ्च ओपन) को खिताब जित्ने रफायल नडालले यसपाली चोटले गर्दा टुर्नामेण्टमा हिस्सा लिनेछैनन्। यो २००४ पछि पहिलो अवसर हुनेछ जब रातो माटोको बादशाह मानिने नडाल आफ्नो सबैभन्दा प्रिय टुर्नामेण्टबाट बाहिर रहनेछन्। गत वर्ष फाइनलमा नडाल विरुद्ध पराजित हुने केस्पर रूपले पहिलो राउण्डमा क्वालीफायर खेलाड़ी विरुद्ध खेल्नेछन् अनि क्वार्टर फाइनलमा उनको भिड़न्त डेनमार्कका होल्गर रुनेसँग हुन सक्छ।
गत हप्ता इटालियन ओपनमा आफ्नो पहिलो क्ले कोर्ट खिताब जित्ने दानिल मेदवेदेवले पनि क्वालीफायर खेलाड़ी विरुद्ध आफ्नो अभियान शुरु गर्नेछन्। क्वार्टर फाइनलमा मेदवेदेवको भिड़न्त इटलीका यानिक सिनरसँग हुनसक्छ। विश्व ऱ्यांकिंगमा पाँचौं स्थानमा रहने स्टेफानोस सितसिपासले पहिलो राउण्डमा चेक गणराज्यका जिरी वेस्ली विरुद्ध खेल्नेछन्। पाँचौं वरीयता प्राप्त सितसिपासको क्वार्टर फाइनलमा अल्काराज विरुद्ध म्याच हुन सक्छ।
यसरी महिला एकलमा फ्रेञ्च ओपनमा गत वर्षकी च्याम्पियन तथा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले आफ्नो अभियानको शुरुवात स्पेनकी क्रिस्टीना बुक्सा विरुद्ध गर्नेछिन्। पोल्याण्डकी खेलाड़ी स्वियातेक र अमेरिकाकी कोको गफबीच क्वार्टर फाइनलमा भिड़न्त हुनसक्छ। स्वियातेकले गत वर्ष फाइनलमा कोको गफलाई नै पराजित गरी खिताब जितेकी थिइन्। वर्तमान विम्बल्डन च्याम्पियन एलिना रायबाकिनाले क्वालीफायर खेलाड़ी विरुद्ध अभियान शुरु गर्नेछिन्। चौथो वरीयता प्राप्त कजाकिस्तानकी खेलाड़ीको क्वार्टर फाइनलमा विम्बल्डन उपविजेता ट्यूनिशियाकी ओन्स जेब्यूरसँग भिड़न्त हुनसक्छ। अष्ट्रेलियन ओपन च्याम्पियन तथा विश्वकी दुई नम्बरकी खेलाड़ी आर्यना सबालेंकाले पहिलो राउण्डमा युक्रेनकी मार्ता कोस्त्युक विरुद्ध खेल्नेछिन्। बेलारुसकी यस खेलाड़ीको क्वार्टर फाइनलमा पाँचौं वरीयता प्राप्त फ्रान्सकी क्यारोलिना गार्सिया विरुद्ध भिड़न्त हुनसक्छ। फ्रेञ्च ओपनको मुख्य ड्र आइतवारदेखि शुरु हुनेछ।

About Author

Advertisement