१२ जूनः नोवाक जोकोविच टेनिस खेलको इतिहासमा सर्वाधिक एकल ग्राण्ड स्ल्याम खिताब जित्ने पुरुष खेलाड़ी बने। उनले फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको फाइनलमा आइतवार राति नर्वेका खेलाड़ी केस्पर रुडलाई पराजित गरी रफायल नडाललाई पछि छोड़े। यसअघिसम्म सर्बियाई दिग्गज जोकोविच र स्पेनिश स्टार नडाल २२-२२ वटा ग्राण्ड स्ल्यामको साथ संयुक्त रूपले शीर्ष स्थानमा रहेका थिए। विश्वका पूर्व नम्बर एक खेलाड़ी ३६ वर्षीय जोकोविचले ३ घण्टा १३ मिनटसम्म चलेको फाइनलमा रुडलाई ७-६, ६-३, ७-५-ले पराजित गरे। यस जीतको साथै उनको झोलीमा नडालभन्दा एउटा खिताब अधिक भयो। सर्वाधिक ग्राण्ड स्ल्याम जित्ने पुरुष खेलाड़ीहरूमा स्विट्जरल्याण्डका रोजर फेडरर (२०) तेस्रो स्थानमा रहेका छन्।
रोलां ग्यारोमा १४ पल्टका च्याम्पियन नडालले यस साल चोटले गर्दा हिस्सा लिन सकेनन्। जोकोविचले यसअघि २०१६ र २०२१-मा फ्रेञ्च ओपनको खिताब जितेका थिए। उनी टेनिसको इतिहासमा हरेक ग्राण्ड स्ल्याम कम्तीमा तीनपल्ट जित्ने पहिलो खेलाड़ी बनेका छन्। उनले तीनवटा फ्रेञ्च ओपनको साथमा १० पल्ट अष्ट्रेलियन ओपन, ७ पल्ट विम्बल्डन र ३ पल्ट अमेरिकी ओपनको खिताब जितेका छन्। उनी एकपल्ट फेरि एक क्यालेण्डर वर्षमा जम्मै ग्राण्ड स्ल्याम जित्ने गोरेटोमा रहेका छन्। रड लेवरले १९६९-मा एक क्यालेण्डर वर्षमा जम्मै ग्राण्ड स्ल्याम जितेका थिए। त्यसपछि अरू कसैले यस उपलब्धिलाई हासिल गर्न सकेका छैनन्। जोकोविच २०२१-मा पनि यस उपलब्धिको नजिक पुगेका थिए। उनले अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र विम्बल्डनको खिताब जिते पनि अमेरिकी ओपनको फाइनलमा दानिल मेदवेदेव विरुद्ध पराजित भएका थिए। सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन ३ जुलाईदेखि शुरु हुनेछ। कोरोना महामारीले अवधि टीकाकरण नगराएको हुनाले जोकोविचले गत वर्ष अष्ट्रेलियन ओपन र अमेरिकी ओपनमा हिस्सा लिन सकेका थिएनन्। यसपाली पेरिसमा ट्रफी जित्नको साथै उनले २३ पल्ट ग्राण्ड स्ल्याम जित्ने सेरेना विलियम्सको पनि बराबरी गरे। सेरेनाले गत वर्ष टेनिसबाट सन्न्यास लिएकी थिइन्। मार्गरेट कोर्टले अमेच्योर युगमा सर्वाधिक २४ वटा ग्राण्ड स्ल्याम खिताब जितेकी थिइन् तर ओपन युगमा जोकोविच र सेरेना शीर्ष स्थानमा रहेका छन्। फ्रेञ्च ओपनका बादशाह मानिने नडालले यस असाधारण जीतको निम्ति जोकोविचलाई बधाई दिएका छन्। उनले ट्वीट गरेका छन्, यस अद्भूत उपलब्धिको निम्ति नोवाक जोकोविचलाई धेरै धेरै बधाई। २३ एउटा यस्तो संख्या हो, जसबारे केही साल अघिसम्म सोच्नु असम्भव थियो तर उनले यसलाई सम्भव बनाए। आफ्नो परिवार अनि टीमसँग जीतको आनन्द लिनुहोस्।









