फ्रेञ्च ओपनः गत विजेता बारबोरा र ओसाका बाहिर, नडाल, राडुकानु दोस्रो राउण्डमा

photocollage_2022524114658241.jpg

२४ मईः फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको दोस्रो दिन महिला एकलमा एकाधिक उलटफेर देख्न पाइयो। चारपल्टकी ग्राण्ड स्ल्याम विजेता नाओमी ओसाका र गत विजेता बारबोरा क्रेज्सिकोवा पहिलो राउण्डमै बाहिर भइन्। यसरी नै नोवाक जोकोविच, रफायल नडाल, एम्मा राडुकानु र इगा स्वियातेक चाहिँ दोस्रो राउण्डमा पुग्न सफल भए। ओसाका र बारबोराबाहेक पुरुष एकलमा स्टेन वावरिंका पनि पहिलो राउण्डमै पराजित भए। पुरुष एकलमा विश्वका नम्बर एक खेलाड़ी जोकोविच र रातो माटोका बादशाह नडालले आ-आफ्नो म्याच जितेर दोस्रो राउण्डमा स्थान बनाए। सर्बियाका स्टार खेलाड़ी जोकोविचले जापानका योशिहितो निशियोकालाई सीधा सेटमा ६-३, ६-१, ६-०-ले पराजित गरे। यसरी नै स्पेनिश दिग्गज नडालले जर्डन थम्पसनलाई ६-२, ६-२, ६-२-ले पराजित गरे। नडाल र जोकोविच एउटै ग्रुपमा रहेका छन् अनि यी दुईबीच क्वार्टर फाइनलमा भिड़न्त हुनसक्छ। जोकविच गत विजेता हुन् अनि उनले दुईपल्ट फ्रेञ्च ओपन खिताब जितिसकेका छन्। यसरी नै नडाल रेकर्ड १३ पल्टका फ्रेञ्च ओपन विजेता हुन्। उनको नाममा रेकर्ड २१ वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ। नडाल अहिले ग्राण्ड स्ल्याममा ३००औं जीतदेखि केवल एक जीत टाढ़ा रहेका छन्। ग्राण्ड स्ल्याममा सर्वाधिक म्याच जित्नेहरूका सूचीमा अहिले नडालभन्दा अघि स्विट्जरल्याण्डका रोजर फेडरर (३६९) र जोकोविच (३२३) रहेका छन्।
यसबीच महिला एकलमा चाहिँ पहिलो राउण्डमै व्यापक उलटफेर देख्न पाइयो। गत विजेता चेक गणराज्यकी बारबोरा क्रेज्सिकोवालाई पहिलो राउण्डमा फ्रान्सकी डायने पेरीले १-६, ६-२, ६-३-ले पराजित गरिन्। फरवरीमा चोट लागेपछि बारबोरा खेलदेखि टाढ़ा रहेकी थिइन्। म्याचमा पहिलो सेट जितेपछि उनले लगातार दुई सेट गुमाएर पराजयको सम्मुखीन भइन्। महिला एकलमा दोस्रो उलटफेर अमेरिकी खेलाड़ी अमाण्डा अनिसिमोवाले चारपल्टकी ग्राण्ड स्ल्याम विजेता नाओमी ओसाकालाई पराजित गरेर गरिन्। अमाण्डाले जापानकी ओसाकालाई ७-५, ६-४-ले पराजित गरिन्। ओसाका मानसिक स्वास्थ्य कारणहरूले गर्दा टेनिसदेखि टाढ़ा रहेकी थिइन्। अमेरिकाकी २० वर्षीय खेलाड़ी अमाण्डा २०१९-मा फ्रेञ्च ओपनको सेमिफाइनलमा पुगेकी थिइन्। उनले जनवरीमा अष्ट्रेलियन ओपनको तेस्रो राउण्डमा पनि ओसाकालाई पराजित गरेकी थिइन्। ओसाका आफ्नो देब्रे खुट्टाको तल्लो हिस्सामा टेप लगाएर खेलिरहेकी थिइन्। बारबोरा र ओसाका हारे पनि गत वर्ष यूएस ओपनको खिताब जितेर सबैलाई चकित पार्ने ब्रिटेनकी एम्मा राडुकानु चाहिँ पहिलो राउण्डको वाधा पार गर्न सफल भइन्। राडुकानुले चेक गणराज्यकी लिण्डा नोस्कोवालाई ६-७ (४-७), ७-५, ६-१-ले पराजित गरिन्। दोस्रो राउण्डमा उनले बेलारुसकी अलिकसान्द्रा सासानोविच विरुद्ध खेल्नेछिन्। यसरी नै विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेक पनि लेसिया सुरेंको विरुद्ध ६-२, ६-०-ले जीतको साथ दोस्रो राउण्डमा पुग्न सफल भइन्।

About Author

Advertisement