खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको फोहोर मैला व्यवस्थापनको लागि थप दुईवटा गाडीहरु शुरु गरिएको छ जसको उदघाटन शनिवार खरसाङका विधायक सोनाम लामा र महकुमा शासक पेमा शेर्पाको बाहुलीबाट गरिएको छ। खरसाङ नगरपालिकामा हालमा मैला व्यवस्थापनको लागि तीनवटा गाडी भए पनि शहरको मैलाहरु व्यवस्थापनको लागि धेरै असुविधा भईरहेको कारणले थप दुईवटा गाडीहरु शुरु गरिएपछि अब पाँचवटा भएकोले खरसाङ नगरपालिकाको फोहोर मैला व्यवस्थापनमा सजिलो हुने भएको छ। उक्त दुईवटा गाडीहरुको सञ्चालनको लागि पण्डितको मन्त्रोच्चारणपछि महकुमा शासक र विधायकको बाहुलीबाट नरिवल फुटाएर साथै रिबन काटेर शुरु गरिएको छ। यसको साथै एउटा गाडीको स्टार्ट विधायक सोनाम लामा स्वयंले गरेका थिए। उक्त कार्यक्रममा खरसाङ नगरपालिकाको निर्मल बन्धु कर्मचारीहरुलाई मैला व्यवस्थापनको लागि ड्रेसहरु र सामाग्रीहरू पनि वितरण गरिएको छ। यस अवसरमा आयोजित कार्यक्रमलाई खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी थेन्डुप भोटियाले सञ्चालन गरेका थिए भने खरसाङका विधायक सोनाम लामा र महकुमा शासक पेमा शेर्पाले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा खरसाङ नगरपालिका अन्तर्गत हाउजिङ फर अल योजनाका लाभार्थीहरु चारजनालाई उक्त योजनाको चेक पनि वितरण गरिएको थियो। यो कार्यक्रममा खरसाङ नगरपालिकाको फाइनान्स अफिसर नोर्देन लामा, नगरपालिकाको अधिकारी गोविन्द अधिकारी, रमेश सुब्बा लगायत कर्मचारीहरु साथै भारतीय जनता पार्टीको तर्फबाट रामकृष्ण शर्मा, दिक्षा तामाङ, सञ्जय थापा साथै अन्यहरु उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विधायक सोनाम लामाले खरसाङमा लामो समयदेखि पानी र फोहोर मैला व्यवस्थापनको लागि समस्या भईरहेको थियो अनि सरकार परिवर्तन भए पनि सिस्टममा काम गर्नु पर्ने भएकाले समय लागेको हो। तर अब खरसाङ नगरपालिका क्षेत्रमा रहेका फोहोर मैला व्यवस्थापनको लागि थप दुईवटा गाडीहरु शुरु गरिएको र यसमा चालक पनि राखिएको जानकारी गराएका छन्। तिनले खरसाङ नगरपालिका क्षेत्रमा फोहोर मैला व्यवस्थापनको लागि टोल फ्रि नम्बर जारी गरिने बताउँदै अब मैला जताभावी फ्याँक्नेहरु विरुद्ध कार्वाही गरिने र मैला जताभावी फ्याँक्नेहरु विरुद्ध जरिमाना लगाइने र यसको लागि सीसीटिभी जडान गरिने पनि बताएका छन्। विधायक सोनाम लामाले खरसाङ बजारलाई स्वच्छ र सुन्दर बनाउन नगरपालिका कर्मचारीहरुको मात्र दायित्व नभएर सम्पूर्ण खरसाङका जनताको पनि दायित्व रहेको बताएका छन्। तिनले खरसाङ बजारलाई स्वच्छ राख्नलाई कडा नियमावली बनाउने पनि संकेत दिएका छन्। त्यसरी नै खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी थेन्डुप भोटियाले आजदेखि खरसाङ नगरपालिकाको फोहोर मैला व्यवस्थापनको लागि थप दुईवटा गाडीहरु शुरु गरिएको र जम्मा पाँचवटा गाडीहरुले दैनिक रुपमा खरसाङ नगरपालिकाको फोहोर व्यवस्थापन गर्न कार्य गर्ने बताएका छन्।





