फीफा वर्ल्ड कपः फर्नाण्डीसको दुई गोलले पोर्तुगल नक्आउट राउण्डमा

photocollage_20221129131527952.jpg

२९ नोभेम्बरः पोर्तुगलले लगातार दोस्रो जीतको साथ कतरमा जारी फीफा वर्ल्ड कप २०२२-को नक्आउट राउण्डमा स्थान बनायो। सोमवार राति खेलिएको ग्रुप एच-को म्याचमा पोर्तुगलले उरुग्वेलाई २-०-ले पराजित गऱ्यो। लुसैल स्टेडियममा अबेर राति खेलिएको यस म्याचमा पोर्तुगलले शुरुदेखि नै असाधारण प्रदर्शन गरे पनि टीमका स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डो चाहिँ छाप छोड़्न असफल रहे। टीमको यस जीतमा ब्रूनो फर्नाण्डीस नायक रहे, जसले २ गोलको साथ उरुग्वेको चुनौतीलाई माटोमा मिलाए। दुवै टीमको निम्ति म्याच जित्नु जरूरी रहेको हुनाले दुवै टीमले आक्रामक शुरुवात गऱ्यो। दुवै तर्फबाट लगातार आक्रमण भए पनि पहिलो हाफको खेलमा गोल हुन सकेन। दोस्रो हाफमा चाहिँ पोर्तुगलले शुरुवाती १० मिनटमै बढ़त हासिल गऱ्यो। राफेल गुरेरोको असाधारण क्रसमा ब्रूनो फर्नाण्डीसले ५४औं मिनटमा गोल गरे। एक समय त गोली रोनाल्डोको शीरमा लागेर नेटमा पसेको झैं लागेको थियो अनि उनले त गोलको खुशीयाली पनि मनाउन थालेका थिए। पछिबाट गोली रोनाल्डोको शीरमा नलागी सीधै नेटमा पसेको पत्तो लागेपछि ब्रूनो फर्नाण्डीसको खातामा गोल दिइयो। एक गोल खाएपछि उरुग्वेले आक्रामक मिजास देखाए पनि कुनै फाइदा भएन अनि टीमले अन्ततिर अझ एक गोल खायो। फर्नाण्डीसले स्टपेज टाइमको तेस्रो मिनटमा पेनल्टीबाट गोल गरी पोर्तुगललाई २-०-ले जीत अनि राउण्ड अव् १६-को टिकट दिलाए।

About Author

Advertisement