फीफा वर्ल्ड कपः क्रोएशियाको सपना चकनाचूर पार्दै अर्जेण्टिना फाइनलमा

IMG-20221214-WA0109.jpg

१४ दिसम्बरः अर्जेण्टिनाले असाधारण प्रदर्शनको क्रम जारी राख्दै फीफा वर्ल्ड कप २०२२-को फाइनलमा स्थान बनायो। मंगलवार अबेर राति लुसैल स्टेडियममा खेलिएको सेमिफाइनल म्याचमा लियोनल मेस्सीको अगुवाईमा रहने अर्जेण्टिनाले गतपल्टको उपविजेता क्रोएशियालाई ३-०-ले पराजित गऱ्यो। अब १८ दिसम्बरमा हुने फाइनल म्याचमा अर्जेण्टिनाको भिड़न्त फ्रान्स र मोरक्कोबीच खेलिने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ। यस जीतको साथै अर्जेण्टिना तेस्रोपल्ट वर्ल्ड च्याम्पियन बन्ने संघारमा पुग्यो। यसरी नै लुका मोड्रिचको कप्तानीमा रहने क्रोएशियाको चाहिँ ट्रफी जित्ने सपना अधुरै रह्यो। म्याचमा अर्जेण्टिनाको जीतमा दुईजना खेलाड़ी नायक रहे। एकजना त स्वयं कप्तान मेस्सी थिए भने दोस्रो २२ वर्षीय युवा खेलाड़ी जूलियन अल्वारेज। मेस्सी र अल्वारेजको युगलबन्दी अघि क्रोएशियाई टोली आत्मसमर्पण गर्न वाध्य भयो। म्याचमा ३५ वर्षीय मेस्सीले एक अनि अल्वारेजले २ गोल गरे।

मीडफिल्डमा क्रोएशियाई टीमको शासनलाई समाप्त गर्न अर्जेण्टिनाको टीम सेमिफाइनलमा ४-४-२-को फर्मेशनको साथ मैदानमा ओर्लिएको थियो। यस रणनीतिमा मेस्सीको टीमले धेरै हदसम्म सफलता पनि हासिल गऱ्यो। पूरा म्याचमा बल पोजेशनको मामिलामा क्रोएशियाई टीम अघि रह्यो तर गोल गर्ने मामिलामा चाहिँ अर्जेण्टिना अघि रह्यो। ल्याटिन अमेरिकी देशले म्याचको पहिलो हाफमा २ अनि दोस्रो हाफमा १ गोल गरी यूरोपेली देशको सपना चकनाचूर पाऱ्यो। म्याचमा अर्जेण्टिनाले पहिलो गोल पेनल्टीबाट हासिल गऱ्यो। गोली लिएर तेजीको साथ अघि बढ़िरहेका जूलियन अल्वारेजलाई क्रोएशियाई गोलकीपर डोमिनिक लिवाकोविचले बक्सभित्र लड़ाउँदा रेफरीले अर्जेण्टिनालाई पेनल्टी प्रदान गरे। त्यही मौकालाई गोलमा परिणत गरी मेस्सीले आफ्नो टीमलाई ३४औं मिनटमा बढ़त दिलाए। त्यसको ठीक ५ मिनटपछि अल्वारेजले असाधारण दक्षताको साथ दर्शनीय सोलो गोल गरी अर्जेण्टिनालाई २-०-ले अघि पारे। यसरी २ गोल खाएपछि क्रोएशियाई टीमको मनोबल लगभग समाप्त भयो। पहिलो हाफको खेलमा अर्जेण्टिनाले गोल गर्ने ५ वटा प्रयास गऱ्यो, जसमा ४ पल्ट गोली लक्ष्यमा रह्यो। यसरी नै क्रोएशियाले ४ पल्ट गोल गर्ने प्रयास गऱ्यो।
दोस्रो हाफको खेलमा क्रोएशियाई प्रशंसकहरूलाई टीमले पुनरागमन गर्ने आशा रहेको थियो तर यस्तो केही हुन सकेन। दोस्रो हाफ शुरु भएपछि ६ मिनटभित्र क्रोएशियाले ३ जना खेलाड़ीलाई सब्स्टीट्यूड पनि गऱ्यो तर केही फाइदा भएन। अर्जेण्टिनाले काउण्टर अटेकिंगको खेल जारी राख्यो। यसैकारण ६९औं मिनटमा स्कोर ३-० पुग्यो। अर्जेण्टिनालाई म्याचको तेस्रो गोल अल्वारेजले मेस्सीको असाधारण पासमा गरे। यस असाधारण जीतको साथ अर्जेण्टिनाले फाइनलमा स्थान पक्का गऱ्यो। क्रोएशियाले अब तेस्रो स्थानको म्याचमा हिस्सा लिनेछ।

About Author

Advertisement