टोरण्टो: दिग्गज फरवर्ड क्रिस्टियानो रोनाल्डोको रेकर्ड गोलको दममा पोर्तुगलले फिफा वर्ल्ड कप २०२६-मा पहिलो जीत हासिल गर्दै नक्आउट राउण्डमा प्रवेश गर्ने सम्भावनाहरूलाई मजबूत बनायो। अमेरिकाको ह्युस्टन स्टेडियममा खेलिएको ग्रुप के-को म्याचमा रोनाल्डोको दुई गोल सहायताले पोर्तुगलले पहिलोपल्ट वर्ल्ड कप खेलिरहेको उज्बेकिस्तानलाई ५-०-ले पिट्यो। रोनाल्डो बाहेक पोर्तुगलको निम्ति नुनो मेण्डेज र राफाएल लिआओले १-१ गोल गरे। अन्य एउटा गोल आत्मघाती रह्यो। यस जीतको साथ पोर्तुगल २ वटा म्याचमा ४ अंकको साथ दोस्रो स्थानमा रहन पुग्यो। पहिलो म्याचमा डीआर कंगोविरुद्ध १-१-को ड्र-मा रोकिने पोर्तुगलले उज्बेकिस्तानविरुद्ध गोलको वर्षा गऱ्यो। लगातार दोस्रो म्याचमा हारपछि उज्बेकिस्तान चाहिँ ग्रुप चरणबाटै बाहिर हुने तय भएको छ। यस ग्रुपमा कोलम्बिया २ वटा म्याचमा ४ अंकको साथ शीर्ष स्थानमा रहेको छ। पोर्तुगलले अब ग्रुप चणको अन्तिम म्याच कोलम्बियासँग २७ जूनमा खेल्नेछ। त्यस म्याचले ग्रुप विजेताको पनि फसेला गर्नेछ। म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगलको शुरुवात असाधारण रह्यो। अल-नस्रका फरवर्ड रोनाल्डोले म्याचको छैटौं मिनटमै गोल गरी पोर्तुगललाई बढ़त दिलाए। यस गोलको साथ उनी लगातार ६ वटा वर्ल्ड कपमा गोल गर्ने पहिलो खेलाड़ी बने। ग्रुपको पहिलो म्याचमा डीआर कंगोविरुद्ध गोल गर्न असफल हुँदा आलोचनाको शिकार हुने रोनाल्डोले उज्बेकिस्तानविरुद्ध रेकर्ड गोलको साथ आलोचकहरूलाई शान्त गरे। रोनाल्डोले २००६-मा वर्ल्ड कप पदार्पण गरेका थिए। त्यसपछि जारी संस्करणसम्म उनले प्रत्येक वर्ल्ड कपमा कम्तमी एउटा गोल गरेका छन्। रोनाल्डोको गोलपछि पोर्तुगलले उज्बेकिस्तानलाई लगातार दबाउमा राख्यो। यसै क्रममा नुनो मेण्डेजले १७औं मिनटमा फ्रीकिकबाट गोल गरी पोर्तुगलको बढ़तलाई दोब्बर पारे। उनले रोनाल्डोसँग असाधारण तालमेलको साथ गोल गरे।पोर्तुगलले मध्यान्तर अघि म्याचको तेस्रो गोल पनि हासिल गऱ्यो। ब्रूनो फर्नाण्डेजको असाधारण पासमा रोनाल्डोले ३९औं मिनटमा व्यक्तिगत दोस्रो अनि म्याचमा टीमको तर्फबाट तेस्रो गोल गरे।
पहिलो हाफमै दुई गोल गरेर रोनाल्डोले पोर्तुगलको निम्ति वर्ल्ड कपमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि बनाए। रोनाल्डोले वर्ल्ड कपमा १० गोल गरिसकेका छन्। उनले युसोबियो (९ गोल)-को नाममा रहेको रेकर्ड तोड़े। रोनाल्डो दोस्रोपल्ट वर्ल्ड कपको एउटा संस्करणमा एकभन्दा अधिक गोल गरे।रोनाल्डोले २००६-मा पदार्पण वर्ल्ड कपमा १ गोल गरेका थिए। त्यसपछि २०१० र २०१४-मा पनि १-१ गोल गरेका थिए। यसरी २०१८-मा चाहिँ स्पेनविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए। साल २०२२-मा १ गोल गर्ने रोनाल्डोले जारी संस्करणमा २ गोल गरिसकेका छन्। रोनाल्डो वर्ल्ड कपमा गोल गर्ने दोस्रो सबैभन्दा अधिक उमेरका खेलाड़ी पनि बनेका छन्। उनले ४१ वर्ष १३८ दिनको उमेर उज्बेकिस्तानविरुद्ध गोल गरे। क्यामरुनका रोजर मिल्लाले ४२ वर्ष ३९ दिनको उमेरमा १९९४-को वर्ल्ड कपमा रसियाविरुद्ध गोल गरेका थिए।
पहिलो हाफमा तीन गोलले अघि रहने पोर्तुगलले दोस्रो हाफमा अझ दुई गोल गरी उज्बेकिस्तानको हार सुनिश्चित गऱ्यो। म्यानचेस्टर सिटीबाट खेल्ने उज्बेकिस्तानका अब्दुभोहिद नेमातोभले ६०औं मिनटमा बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्दा पोर्तुगल ४-०-ले अघि रहन पुग्यो। अन्तमा स्थानापन्न खेलाड़ीको रूपमा मैदान प्रवेश गर्ने लिआओले ८७औं मिनटमा गोल गरी पोर्तुगललाई ५-०-ले जीत दिलाए। उज्बेकिस्तानको तर्फबाट पहिलो हाफमा शुकुरोभले लामो दूरीबाट दर्शनीय गोल गरेका थिए, जसलाई भीएआर जाँचपछि रद्द गरियो।










