ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा लिभरपूल र म्यानचेष्टर सिटी हारको सम्मुखीन भयो। शनिवार राति खेलिएको म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेडले म्यानचेष्टर सिटीलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा केवल २९ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेड लगभग अन्तिम समयसम्म एक गोलले पछि रहेको थियो तर टीमले पछिबाट लगातार दुई गोल दर्ता गरी म्याच जित्यो। खेलको मध्यान्तरसम्म कुनै टीमले गोल गर्न सकेन। त्यसपछि ज्याक ग्रेलिसले ६०औं मिनटमा म्यानचेष्टर सिटीको निम्ति गोलको खाता खोले। चरम दबाउको परिस्थितिमा ब्रूनो फर्नाण्डेजले ७८औं मिनटमा गोल गरी म्यानचेष्टर युनाइटेडलाई म्याचमा फर्काए। अन्तमा मार्कस रासफोर्डले ८२औं मिनटमा गोल गरी म्यानचेष्टर युनाइटेडलाई २-१-ले जीत दिलाए। यस जीतपछि म्यानचेष्टर युनाइटेड १८ वटा म्याचमा ३८ पोइण्टको साथ प्रीमियर लीग टेबलको तेस्रो स्थानमा पुग्यो। यसरी नै दोस्रो स्थानमा कायम म्यानचेष्टर सिटीसँग ३९ पोइण्ट रहेको छ।

प्रीमियर लीगको जारी सीजनमा असाधारण लयमा रहने ब्राइटनले लिभरपूललाई ३-०-ले उलटफेरको शिकार बनायो। आफ्नो होम ग्राउण्ड फाल्मर स्टेडियममा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राइटनबाट सोली मार्चले ४७औं र ५३औं मिनटमा २ गोल गरे। यसबाहेक डेनी वेलब्याकले ८१औं मिनटमा एक गोल गरे। यस जीतपछि ब्राइटन १८ वटा म्याचमा ३० पोइण्टको साथ सातौं स्थानमा पुग्यो। यसरी नै लिभरपूल २८ पोइण्ट लिएर नवौं स्थानमा रहेको छ। प्रीमियर लीगको जारी सीजनमा यो लिभरपूलको छैटौं हार हो। प्रीमियर लीगका अन्य म्याचहरूमा साउथम्प्टनले एभर्टनलाई २-१-ले अनि नटिंघम फरेष्टले लिस्टर सिटीलाई २-०-ले पराजित गऱ्यो। ब्रेण्टफोर्डले बोर्नमाउथ विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यसबाहेक एस्टन भिल्लाले लीड्स युनाइटेडलाई २-१-ले अनि वूल्भरह्याम्प्टन (वूल्भ्स)-ले वेष्ट ह्यामलाई १-०-ले पराजित गऱ्यो। ब्रेण्टफोर्ड अहिले १९ वटा म्याचमा २९ पोइण्टको साथ आठौं स्थानमा रहेको छ।









