प्रितम राई बने पहिलो ‘मेरो भोइस युनिभर्स’का विजेता

voice._37

गान्तोकः नेपालमा आयोजित रियालिटी शो ‘मेरो भोइस युनिभर्स’ को उपाधि जित्न सिक्किमको छोरो प्रितम राई सफल बनेका छन्। यसैगरी, सिक्किमका अर्का गायक शिशिर ठटाल पहिलो उप-विजेता बनेका छन्। यसरी नै नृत्य वर्गको ‘मेरो डान्स युनिभर्स’ मा भने सिक्किमका नर्तक मिङ्मा डी. लेप्चा दोस्रो उप-विजेता बन्न सफल भएका छन्। अन्तरराष्ट्रिय मञ्चमा यसरी सिक्किमको नाम उज्ज्वल पार्न सफल तीनैजना प्रतिभाहरूलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले बधाई एवं शुभकामना दिएका छन्। पछिल्ला केही वर्षहरूमा राज्यका प्रतिभाहरूले विभिन्न स्तरहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै धेरै पुरस्कारहरू जितेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले ती प्रतिभाहरूले आफ्नो लक्ष्य चुम्न सकोस् भन्ने कुरालाई ध्यानमा राख्दै उनीहरूको हितमा कार्य गर्न राज्य सरकार कटिबद्ध रहेको बताएका छन्।

हिजो सम्पन्न फाइनल कार्यक्रममा ती कलाकारहरूलाई प्रोत्साहन दिँदै राज्यको तर्फबाट कृषि मन्त्री लोकनाथ नेपाल उपस्थित रहेका थिए। आयोजक पक्षले सिक्किमे कलाकारहरूलाई निःस्वार्थ सहयोग अनि हौसला दिन सधैं अघि रहने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको सराहना पनि गरेका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डको बाहुलीबाट प्रितम राईले मेरो भोइस युनिभर्सको पहिलो उपाधिसँगै स्मृति चिन्ह ग्रहण गरे। पहिलो उप-विजेता रम्फू निवासी शिशिर ठटाल अनि मेरो डान्स युनिभर्सका दोस्रो उप-विजेता नाम्ची निवासी मिङ्मा डी. लेप्चाले पनि मुख्य अनि विशिष्ट अतिथिको बाहुलीबाट पुरस्कार ग्रहण गरे। जानकारी गराइन्छ, गीत अनि डान्स दुवै विधामा पहिलोपल्ट अन्तरराष्ट्रिय स्तरमा आयोजित यस प्रतियोगितामा विश्वभरिकै कलाकारहरूले सहभागिता जनाएका थिए। यस्तोमा गायन क्षेत्रमा उपाधि जित्नसँगै सिक्किमका कलाकारहरूले आफ्नो वर्चस्व कायम राख्न सफल बनेका छन्।

About Author

Advertisement