राजगञ्ज: प्राथमिक टेट परीक्षा पास गरेपनि अन्तर्वार्ताको फोन आएन। शतप्रतिशत दृष्टिविहीन युवा आशिष साहले बजारमा अगरबत्ती बेचेर जीविकोपार्जन गरिरहेका छन्। दृष्टिविहीन युवा आशिष साहले सिलगढी-जलपाईगुडीका विभिन्न बजारमा अगरबत्ती बेचिरहेका छन्।
आशिष राजगञ्ज ब्लकको फुलबारी–डबग्राम भक्तिनगर क्षेत्रका बासिन्दा रहेको बताइएको छ। उनको परिवारमा आमाबुवा र तीन दाजुभाइ छन्। बुबा र भाइ किसान हुन्। स्नातकोत्तर गरेपछि आशिषले बीएड पास गरे। २०२२ मा प्राथमिक टेट परीक्षा उतीर्ण गरे, तर उनको अन्तर्वार्ता अझै भएको छैन।
त्यसैले उनी बेलाकोबाको शिकारपुर हाट, अम्बाडी, नक्सलबारी, माटिगारा, कोर्ट मोड, सिलगढीको जंक्शन जस्ता विभिन्न ठाउँमा अगरबत्ती घुमेर बेच्न बाध्य छन्।
आशिषले प्राथमिक टेट परीक्षामा उत्तीर्ण भई अन्तर्वार्तामा बस्ने मौका पाए मेरिटका आधारमा सफल हुनेमा दृढ विश्वास रहेको बताए। उनले विभिन्न संस्थामा निवेदन दिए पनि काम पाएका छैनन्।
प्रदेश सरकारले उनीजस्ता दृष्टिविहीनलाई रोजगारीका लागि विभिन्न संस्थामा कोटा दिइएको छ। कम्तिमा पनि करारमा काम दिएमा उनी सरकारप्रति सधैं आभारी रहने बताउछन्।









