प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको बैठकमा भाग लिन संयुक्त राज्य बेलायत प्रस्थान

IMG-20241103-WA0133

काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा नवंबर ४ देखि ७तारिकसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गरेका हुन्।
नेशनल सेंट्रल ब्यूरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसंग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गरेका छन्।
उनिहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरे।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (Iडब्लुसीएल) तथा निजी संस्थाहरू बीचको सहकार्य, डिजिटल एविडेंसमा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, एनुअल फाइनेंसियल रिपोर्ट एंड फाइनेंसियल स्टेटमेंट्स २०२३, प्रोग्राम ऑफ़ एक्टिविटीज एंड ड्राफ्ट बजट फॉर २०२५, इंडिकेशन्स फॉर २०२६ एंड २०२७, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत हुने कार्यक्रम रहेको छ।
साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा सहभागि हुने प्रतिनिधी मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसंग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ।

About Author

Advertisement