प्रश्नपत्र तयारीलाई लिएर विद्या भारती सिक्किमको शैक्षिक टोलीको बैठक एवं कार्यशाला

IMG-20240908-WA0141

गान्तोक: विद्या भारती सिक्किमको शैक्षिक टोलीको एक बैठक एवं कार्यशाला शनिवार रानीपुलस्थित सरस्वती विद्या निकेतनको सभागृहमा सम्पन्न भयो। गुणस्तरीय प्रश्नपत्र निर्माणलाई लिएर आयोजन गरिएको उक्त कार्यक्रममा कालेबुङ र दार्जीलिङ जिल्ला बाहेक सिक्किममा सञ्चालित ११ विद्यालयका प्रधानाचार्य, सह प्रधानाचार्य, आचार्य-आचार्या गरि ६४ जनाले भाग लिए।
कार्यक्रममा विद्या भारती सिक्किम प्रान्तको नवगठित समितिका अध्यक्ष सीके राई, महासचिव विजय कुमार शर्मा, सह सचिव उमाकान्त शर्मा र संयोजक मोहन शर्माको विशेष उपस्थिति थियो। कार्यशालामा प्रश्नपत्र निर्माण, योजना एवं विशेषताबारे विद्या भारती सिक्किम प्रान्तका प्रशिक्षण प्रमुख सूर्य धितालले जानकारी गराए। उनले प्रश्नपत्र प्रारूप, रचना, मूल्याङ्कन, उद्देश्य, गुणवत्ता, सृजना, संख्यात्मक महत्त्व, प्रश्नपत्रको स्वरुप आदि विषयहरूमाथि पनि प्रकाश पारे।
राष्ट्रिय शिक्षा नीति अन्तर्गत विभिन्न विषयहरूलाई ध्यानमा राख्दै स्कूली शिक्षाको गुणवत्तामा सुधार गर्नु, विद्यार्थीहरूको विकासको निम्ति एउटा समग्र र समावेशी दृष्टिकोण प्रदान गर्न एनसीएफको उद्देश्यलाई अझ प्रभावी बनाउनु, विद्यार्थीहरूलाई आफ्नो पूर्ण क्षमताको विकास गर्न मद्दत गर्नु आदि जस्ता विषयहरूमाथि पनि चर्चा गरियो। बैठकमा व्यापक छलफलपछि गुणस्तरीय प्रश्नपत्र निर्माणलाई ध्यानमा राख्दै एउटा समिति पनि गठन गरिएको छ।विद्या भारती सिक्किम प्रान्तका संयोजक मोहन शर्माले शैक्षिक टोली गठन एवं दायित्वबारे विस्तृत जानकारी प्रदान गरे। कार्यक्रमलाई संस्थाका अध्यक्ष र महासचिवले पनि सम्बोधन गरे। कार्यक्रममा उपस्थित प्रधानाचार्य र शिक्षकगणले पनि आफ्ना विचारहरू साझा गरेको जानकारी विद्या भारती सिक्किमका प्रचार प्रमुख सूर्य धितालले प्रेस विज्ञप्तिमा दिएका छन्।

About Author

Advertisement