गान्तोक: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि आगामी २७ अप्रेल सिक्किम आउने हुनुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार राजधानीको मनन केन्द्रमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गर्नुभएको हो।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री मोदी दिउँसो ३ बजे लिबिङस्थित सैनिक हेलिप्याडमा अवतरण गर्नुहुनेछ। त्यसलगत्तै उहाँले हेलिप्याडदेखि लोकभवनसम्म आयोजना गरिने विशेष ‘रोड शो’ मा भाग लिनुहुनेछ। मुख्यमन्त्री तामाङले प्रधानमन्त्रीको स्वागतका लागि सिक्किम सरकारले सम्पूर्ण तयारी पुरा गरिसकेको जानकारी दिँदै सो दिन दिउँसो २ बजे नै राजधानीमा एकत्रित भएर भव्य स्वागत गर्न सिक्किमवासीहरूलाई आह्वान गर्नुभएको छ।
प्रधानमन्त्री मोदी २८ अप्रेल राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने विशाल जनसभालाई सम्बोधन गरेर फर्कनुहुनेछ। यसअघि गत वर्षको जेठ १५ गते तय भएको भ्रमण मौसम खराब भएपछि रद्द भएको थियो। मुख्यमन्त्रीले आफूले व्यक्तिगत रूपमा दुई पटक भेटेर अनुरोध गरेपछि प्रधानमन्त्री सिक्किम आउन तयार भएको बताउनुभयो। देशकै कम जनसङ्ख्या भएको २२औँ राज्यमा प्रधानमन्त्रीको आगमन हुनु गौरवको विषय भएको मुख्यमन्त्री तामाङको भनाइ छ।










