नयाँ दिल्ली: लोकसभा चुनावको नतिजामा एनडीएले बहुमत पाएर तेस्रो पटक सत्तामा आउन लागेको छ। नयाँ सरकारको शपथ ग्रहणको मिति र समय पनि लगभग तय भइसकेको छ। स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोह ८ जुनको साँझ हुनसक्छ। यसअघि नरेन्द्र मोदीले दोस्रो कार्यकाल पूरा गरी राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन्। यसका लागि तयारी तीब्र भएको छ। नयाँ मन्त्री परिषदमा अनुहारलाई लिएर गठबन्धनसँग वार्ता र भेटघाटको सिलसिला पनि तीब्र भएको छ। दुई–तीन दिनमा नाम टुंगो लाग्ने सम्भावना छ। तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने बित्तिकै नरेन्द्र मोदीको नाममा नयाँ कीर्तिमान थपिनेछ। उनी लगातार तेस्रो पटक चुनाव जितेर देशको प्रधानमन्त्री बन्ने दोस्रो नेता बन्नेछन्। यसअघि यो कीर्तिमान जवाहरलाल नेहरूका नाममा थियो। मोदीले आफ्नो कीर्तिमान बराबरी गर्नेछन्। एनडीएको बैठक आज दिउँसो ४ बजे दिल्लीमा बोलाइएको छ। जसमा जेडीयू प्रमुख नितिश कुमार, टीडीपी प्रमुख एन चन्द्रबाबु नायडू र अन्य नेताहरू सहभागी हुनेछन्। भाजपा संसदीय बोर्ड बैठक एनडीए सहयोगीहरुसँग वार्ता पछि बस्नेछ। यसमा सरकार गठन र शपथ ग्रहणको रूपरेखाबारे छलफल हुनेछ। जेडीयु प्रमुख नितिश कुमार बुधबार बिहान दिल्ली पुगेका छन्। चन्द्रबाबु नायडू पनि दिउँसो दिल्ली पुग्न सक्छन्।










