गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न सिक्किम भ्रमणलाई भव्य र व्यवस्थित बनाउन राज्य सरकारले आफ्नो तयारीलाई तीव्र पारेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रत्यक्ष निर्देशनमा भइरहेका यी तयारीहरूको सिलसिलामा आज मुख्य सचिव आर. तेलाङले विभिन्न विभागीय प्रमुखहरूसहित गान्तोकस्थित पाल्जोर स्टेडियमको स्थलगत निरीक्षण गरेका छन्। मुख्य सचिवले स्टेडियममा आयोजना हुने विशेष कार्यक्रमका लागि भइरहेका पूर्वाधार निर्माण र अन्य व्यवस्थापनको विस्तृत समीक्षा गरे।निरीक्षणका क्रममा मुख्य सचिव तेलाङले कार्यक्रमका लागि तयार पारिँदै गरेका मञ्च, दर्शक दीर्घा र सुरक्षा प्रबन्धहरूको नजिकबाट अवलोकन गरेका थिए। तयारीको प्रगति सन्तोषजनक रहेको वा नरहेको जाँच गर्नुका साथै सबै कार्यहरू निर्धारित मापदण्ड र समयसीमा भित्रै सम्पन्न गर्न उनले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए। सो अवसरमा विभागीय अधिकारीहरूले हालसम्म भएका कामको प्रगति विवरण प्रस्तुत गर्दै देखिएका प्राविधिक चुनौतीबारे मुख्य सचिवलाई जानकारी गराएका थिए। मुख्य सचिवले कुनै पनि कमीकमजोरी हुन नदिन र बाँकी रहेका कामहरूलाई युद्धस्तरमा सम्पन्न गर्न कडा निर्देशन दिँदै प्रधानमन्त्रीको भ्रमणलाई ऐतिहासिक बनाउन सबै पक्षलाई एकजुट हुन आह्वान गरे।










