काठमाडौँ: प्रधानमन्त्री बालेन शाहले नेपालको परराष्ट्र सम्बन्धमा व्यापक फेरबदल गर्दै नयाँ विदेश नीति “नेपाल पहिलो : नेपाली पहिलो” सार्वजनिक गर्नुभएको छ। पूर्ववर्ती सरकारहरूको परम्परागत नीतिभन्दा भिन्न यस नयाँ रणनीतिले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासलाई कूटनीतिको केन्द्रविन्दुमा राखेको छ।
नयाँ नीतिले नेपाललाई दुई शक्तिशाली छिमेकीहरूबीचको केवल ‘बफर स्टेट’ (मध्यवर्ती राज्य) मात्र नरही एक ‘जीवन्त सेतु’ (भाइब्रेन्ट ब्रिज) का रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि नेपालले भारत र चीनसँग त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीलाई प्रवद्र्धन गर्नेछ। सरकारले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पार्दै असंलग्न र तटस्थ राष्ट्रको रूपमा विश्व मञ्चमा नेपालको स्वतन्त्र अस्तित्व कायम राख्ने उद्घोष गरेको छ।
विदेश नीतिमा छिमेकी मुलुकहरूसँग ‘समान दूरी र समान निकटता’ को सिद्धान्त अपनाइने उल्लेख छ। साथै, विदेशस्थित नेपाली नियोगहरूको प्रभावकारिता मापन गर्न वैज्ञानिक ‘परफर्मेन्स अडिट’ प्रणाली सुरु गरिने र जलवायु परिवर्तन तथा हिमाल संरक्षणका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउने सरकारको योजना छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा र अधिकारलाई पनि यस नीतिले उच्च प्राथमिकता दिएको छ।









