नयाँ दिल्ली: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। नीट-युजी परीक्षामा देखिएको अनियमितता र दिल्लीको जन्तर-मन्तरमा विद्यार्थीहरूले गरिरहेको तीव्र विरोध प्रदर्शनका बिच उनले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।शिक्षा मन्त्री प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामाको घोषणा गर्दै विद्यार्थीहरूको भावना र आकांक्षाको सम्मान गर्दै यो निर्णय लिएको बताएका छन्। उनले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष बुझाइसकेका छन्। गत ३ मे २०२६ मा सम्पन्न भएको नीट-यूजी परीक्षामा अनियमितता र धाँधली भएको आरोप लागेपछि विद्यार्थीहरू आन्दोलित भएका थिए। त्यसपछि भारत सरकारले उक्त परीक्षा रद्द गरी छानबिनको जिम्मा सीबीआईलाई सुम्पेको थियो। पुनः परीक्षा गराएर १६ जुलाईमा नतिजा सार्वजनिक गरिए पनि विद्यार्थीहरूको असन्तोष र आन्दोलन रोकिएन। जन्तर-मन्तरमा जारी धर्ना र राष्ट्रियस्तरमा बढेको दबाबका बिच प्रधानले राजीनामा दिने निर्णय गरेका हुन्।आफ्नो वक्तव्यमा उनले विगत १० दिनका घटनाक्रमले मन दुःखी बनाएको र देशको युवाशक्तिलाई भ्रमको चक्रमा पस्न नदिन तथा विद्यार्थीहरूको भविष्य कानुनी उल्झनमा नफसोस् भन्नका लागि पद छाडेको उल्लेख गरेका छन्। साथै आगामी वर्षदेखि यो परीक्षालाई सीबीटी (कंप्यूटर-बेस्ड टेस्ट) मोडमा सञ्चालन गर्ने निर्णय भइसकेको समेत उनले जानकारी दिएका छन्।शिक्षा मन्त्रीको राजीनामा पछि दिल्ली प्रहरीले जन्तर-मन्तरमा रहेका विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। यद्यपि, स्थिति नियन्त्रणमा लिन र आगामी रणनीति बनाउन भारत सरकारका प्रतिनिधि र आन्दोलनरत छात्र संगठनबिच वार्ता जारी रहेको जनाइएको छ।









