नयाँ दिल्ली: ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरव दासलाई दिल्ली विमानस्थलमा विमानभित्रैबाट पक्राउ गरिएको छ। उनीहरू मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्न माग गर्दै जन्तरमन्तरमा आयोजना हुने प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका थिए।
यसैगरी, युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित उनको निवासबाट पक्राउ गरिएको छ। समाचारअनुसार, राजधानीका विभिन्न स्थानबाट सीजेपीका करिब ६०० अन्य समर्थकलाई समेत पक्राउ गरिएको छ।
पार्टीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले एक भिडियो सार्वजनिक गर्दै प्रहरी आफ्नो घरमा आएको र उनको गाडीलाई घेरा हालेको बताएकी छन्। उनका अनुसार, प्रहरीले माथिबाट आदेश आएको भन्दै उनलाई घरमै बस्न निर्देशन दिएको थियो। उनले गाडीमा आफूसहित तीन जना महिला रहेको पनि बताएकी छन्। प्रदर्शनमा सहभागी हुन जन्तरमन्तर जाँदै गरेका सीजेपी समर्थकहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।
प्रदर्शन हुनुअघि नै राजधानीमा करिब ४३ हजार प्रहरी तथा अर्धसैनिक बलका जवान परिचालन गरिएको छ। प्रहरीले सडकमा अवरोधहरू राखेको छ भने केही मेट्रो स्टेसनका प्रवेशद्वारसमेत बन्द गरेको छ। नयाँ दिल्ली क्षेत्रमा सभा तथा प्रदर्शनमा रोक लगाउन शुक्रबार भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको थियो।
यसअघि ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्ने र दुई प्रमुख रेलवे स्टेसनमा सेवा रोक्ने आदेश दिइएको थियो। यद्यपि, सर्वोच्च अदालतले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्न निर्देशन दिएको थियो।
सीजेपीको यस प्रदर्शनलाई यसअघिको ‘ककरोच आन्दोलन’ को दोस्रो चरण मानिएको छ। परीक्षामा भएको अनियमितताको विरोधमा सञ्चालित पहिलो आन्दोलनपछि भारतका शिक्षामन्त्रीले राजीनामा दिएका थिए।





