प्रथम नेपाली कवाली ‘तिम्रो नामले’ दार्जिलिङमा सार्वजनिक

IMG-20230410-WA0240.jpg

दार्जिलिङ: पुरण गिरीको शब्द अनि दीप वाईबाको संगीतमा प्रथम नेपाली कवाली ‘तिम्रो नामले’ आज दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनको पुस्तकालय कक्षामा सार्वजनिक गरियो। प्रसिद्ध संगीतकार बसन्त छेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगीत अनि साहित्य क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू लगायत कला प्रेमीहरूको विशेष उपस्थिति रहेको थियो। यस कवालीका गायक प्रनेस थामी अनि गायिका रजनी रिदम राई रहेका छन् भने कवालीको कोरियोग्राफी शशी शेर्पाद्वारा गरिएको छ। राजेन प्रधानद्वारा निर्माण गरिएको यस कवालीलाई बिनय शंकरद्वारा छायाँकन गरिएको छ भने आदित्य रायाद्वारा सम्पादन अनि निर्देशन गरिएको छ जसमा सिवानी छेत्रीले सह निर्देशकको रुपमा काम गरेकी छन्। यसमा रिना रायाद्वारा मेकअप गरिएको छ। नेपालीमा प्रथम कवालीको रुपमा रेकर्डिङ्ग गरिएको यस गीतका संगीत संयोजक जीवन प्रकाश प्रधान हुन् भने उनकै स्टुडियो रिदम रेकर्डिङ्ग्समा रेकर्ड अनि अडियो प्रडक्सन गरिएको जानकारी प्राप्त भएको छ। शिवानी छेत्रीद्वारा सञ्चालन गरिएको आजको कार्यक्रमबीच नै यस भिडियोसंग सम्बन्धित सम्पूर्णलाई निर्माण टोलीको तर्फबाट सम्बर्ध्दना पनि जनाइयो। कार्यक्रममा संगीतकार बसन्त क्षेत्रीद्वारा भिडियो सार्वजनिक भएको घोषणा गरियो भने गायिका दावा ग्यालमोद्वारा प्ले बटन थिचेर भिडियो उपस्थित दर्शक समक्ष प्रस्तुत गरियो।

About Author

Advertisement