प्रत्येक कुरालाई राजनीतिक मुद्दा नबनाएर हामी चुपचाप कानून-व्यवस्था सुनिश्चित गर्न विश्वास गर्छौः खालिङ

Untitled-1-copy-110

गान्तोकः मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले राज्यमा हालैमा केही अपराधका घटनाहरू रिपोर्ट भएका र यी घटनाहरूले सबैलाई चकित तुल्याएको बताउएका छन्। उनले यस प्रकारका जघन्य अपराधहरूलाई सहन गर्न सकिॅंदैन भन्दै उक्त घटनाहरूको तीब्ररूपमा भत्सर्ना गरेका छन्। उनले पाङथाङमा भएको एक नाबालिगको हत्याको भत्सर्ना जनाउॅंदै आरोपित व्यक्तिलाई कडा सजाय दिनुपर्ने बताएका छन्। गान्तोक पुलिसले यस हत्याकाण्डको ७२ घण्टाभित्र समाधान गरेर प्रशंसनीय कार्य गरेको पनि उनले आज जारी प्रेस विज्ञप्तिमा बताएका छन्। यो सिक्किम पुलिसको महत्त्वपूर्ण उपलब्धि रहेको बताउॅंदै यसले राज्यलाई सुरक्षित राख्नको निम्ति उनीहरूको दक्षता र प्रतिबद्धतालाई दर्साएको पनि खालिङले बताएका छन्।

यसरी नै पश्चिम बंगालका एक व्यक्तिलाई १४ अप्रेलको दिन मल्ली चेकपोस्टमा पक्राउ गरिएको घटनाको पनि उनले उल्लेख गरेका छन्। आरोपित व्यक्तिलाई गेजिङ जिल्लाकी एक नाबालिगलाई लिएर सिलगढी जाँदै गरेको अवस्थमा पक्राउ गरिएको थियो। सोही प्रकारले राजधानीस्थित विकास क्षेत्रमा एक जना ५१ वर्षीय व्यक्तिलाई कुटेर हत्या गरिएको मामिलामा पनि पुलिसले आरोपितलाई पक्राउ गरेको छ। सिक्किम पुलिसले उक्त घटनाका आरोपितहरूलाई समयमा पक्राउ गरेर रेकर्ड कायम गरेको खालिङले बताएका छन्। उनले प्रत्येक कुरालाई राजनीतिक मुद्दा नबनाएर हामी चुपचाप कानून-व्यवस्था सुनिश्चित गर्न विश्वास गर्छौ भनी बताएका छन्। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ उक्त घटनाहरूको सम्बन्धमा प्रशासनिक प्रमुख र पुलिसको लगातार सम्पर्कमा रहेको पनि जानकारी गराएका छन्।

About Author

Advertisement