खरसाङ: प्रतिष्ठित नाट्य संस्था जागृति परिवार, खरसाङले पालन गर्यो ५४औँ स्थापना दिवस। गोर्खा जन पुस्तकालय भवनमा आयोजित यस समारोहको अध्यक्षता परिवारका सभापति लक्ष्मण गुरुङले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ नाटककार साथै जागृति परिवारका संस्थापक स्वर्ण सदस्य पूर्ण गुरुङ निरुपम अनि विशिष्ट आतिथिको रूपमा पूर्व सभापति साथै स्वर्ण सदस्य खेमराज राई उपस्थित थिए।
परिवारका वरिष्ठ सदस्य साथै सहसचिव प्रणाम प्रधानद्वारा सञ्चालित समारोहको आरम्भमा धूपदीप प्रज्वलन साथै संस्थापक दिवङ्गत सदस्यगणको स्मृतिमा दुई मिनट मौन प्रार्थना गरियो। परिवारका सदस्य र शुभचिन्तकगणको उपस्थितिमा सम्पन्न समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि खेमराज राईले कुनैपनि संस्थाले स्वर्ण जयन्ती पालन गर्नु ठुलो उपलब्धि रहेको अनि जागृति परिवारलाई यो सफलता तीन वर्ष अघि नै प्राप्त भएको बताउँदै सबैमा ५४औँ स्थापना दिवसको बधाई र शुभकामना साझा गरे। उनले परिवारको स्थापना अवधि साथै पछिका दिनहरूमा घटेका घटनाहरु साझा गरे अनि परिवारका कर्मठ साथै सक्रिय सदस्यहरुको प्रयासले जागृति परिवारले यो रुप पाएको बताए। प्रमुख अतिथि पूर्ण गुरुङ निरुपमले आफ्नो सम्बोधनमा परिवारको जागृति परिवारले नाटकको क्षेत्रमा गरेका कार्यहरुको उल्लेख गर्दै वर्तमानमा नाटकको अवस्था, इतिहास साथै सिद्धान्त सन्दर्भमा विस्तृतरुपमा प्रकाश पारे। उनले नाटक विधाको श्रीवृद्धिको निम्ति कलाकारहरुलाई अधि आउने आव्हान पनि गरे। यस अवसरमा रङ्गमञ्चिय नााटक सन्दर्भमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरियो।










