प्रतिष्ठित जेसीबी पुरस्कारका निम्ति छुदेन काविमो ‘फातसुङ’ १० कृतिको सूचीमा मनोनित

0-IMG-20220903-WA0135

कालेबुङ: २५ लाख मूल्यको भारतको प्रतिष्ठित जेसीबी पुरस्कारका निम्ति मनोनित १० पुस्तकमा प्रथमपल्ट नेपालीबाट छुदेन काबिमोको उपन्यास ‘फातसुङ’ चयन भएको छ। जेसीबी पुरस्कारको निम्ति चयन हुने पुस्तकहरूमा सिला टमीको भल्ली, रहमान अब्बासको रोहजिन, गितान्जली श्रीको टम्ब अफ् स्यान्ड, नभतीज सारनाको क्रिमसन स्प्रिङ, खलिद जावेदको प्यारेडाइस अफ फुड आदि परेका छन्।

सन् २०१८ देखि इङ्ग्लिस कन्स्ट्रक्सन मेनुफेक्चरिङ ग्रुप जेसीबीद्वारा कोष प्रदान गरिने यस पुरस्कार, अमिताभ बागची, बेन्यामिन, पेरुमल मुरुगन, अनुराधा रोई, सुभाङ्गी स्वरूप जस्ता प्रतिष्ठित सर्जकहरूले प्राप्त गरिसकेका छन्। भारतीय अंग्रेजी साहित्यिक जगतमा सर्वोच्च मानिने जेसीबी साहित्यिक पुरस्कार-को सूचीमा ‘फातसुङ’को अंग्रेजी अनुवाद पनि परेको घोषणा आज पुरस्कार चयन समितिका निर्देशक मिता कपुरले गरेकी छिन्। जेसीबी साहित्यिक निर्देशक मिता कपुरले आज उक्त पुरष्कारको लङ् लिस्टको घोषणा गर्दै भनिन्, ‘महिनौको कठिन अध्ययन पछि कुल १० वटा उपन्यासहरू पुरस्कारको सूचीमा परेका छन्l’

प्रत्येक वर्ष उत्कृष्ट भारतीय अंग्रेजी उपन्यासलाई चयन गरिने यस पुरस्कारमा प्रथमपल्ट नेपाली भाषाको उपन्यास ‘फातसुङ’ परेको हो, जसले गर्दा भारतीय मुलधारको अंग्रेजी साहित्यिकमा भारतीय नेपाली साहित्यले पनि स्थान पाउन सफल भएको छ। सन् २०१९ मा प्रकाशित छुदेन काविमोको फातसुङलाई अनुवादक अजित बरालले सङ अफ द् सोयल टाइटल दिँदै अंग्रेजीमा अनुवाद गरेका हुन्। सिक्किमको रचना बुक्सबाट प्रकाशित यस उपन्यास अहिले अन्य १० वटा भारतीय उपन्यासहरूको हाराहारिमा जेसीबी साहित्यिक पुरस्कारको लहरमा उभिएको छ। यसपल्टको पुरस्कार सूचीमा परेका १० वटा कृतिहरूमा ६ वटा अनुवाद कृति परेका छन् भने ४ वटा मौलिक कृतिहरू परेका छन्।  बुकर प्रजाइ विजेता ‘रेत समाधि’लगायत दुईवटा उर्दु उपन्यास र क्रमैले एक एकवटा मल्यालम, हिन्दी र बङ्गला उपन्यासहरूको लश्करमा प्रथम चोटी नेपाली उपन्यास फातसुङ परेको हो। आज सार्वजनिक लङ लिस्टमा १० वटा उपन्यासहरू परेका छन् भने नोभेम्बर महिनामा सार्वजनिक हुने सर्ट लिस्टमा कुल ५ वटा उपन्यास पर्नेछन्। अन्तिम पुरस्कृत उपन्यास अक्टोबर महिनामा घोषणा गरिने निर्देशक निता कपुरले जनाएकी छिन्। उक्त जेसीबी साहित्यिक पुरस्कार विजयताले २५  लाख रुपियाँ नगद राशी पाउने छ भने सर्ट लिस्टमा परेका ५ वटा उपन्यासहरूले क्रमैले एक लाख रुपियाँ पाउनेछन्। पुरस्कार विजेता किताबको अनुवादकले १० लाख साथै दोस्रो सूचीमा परेका किताबका अनुवादकले ५० हजार नगद रुपियाँ पाउनेछ। यता आख्यानकार छुदेन काविमोले भारतभरि लेखिएका अंग्रेजी आख्यानको निम्ति दिइने पुरस्कारको लङ्गलिस्टमा आफ्नो किताब परेकोमा आफै चकित भएको अनुभव पोखेका छन्। उनले भने, ‘थाहा छैन, किताबले अघिको बाटो कहाँसम्म तय गर्ने हो? तर, सूची हेरेपछि लाग्यो, ‘पुरस्कार जित्नु/नजित्नु अब दोस्रो कुरा भयो। यहाँसम्म आइपुग्दा नै नेपाली साहित्यले थोरै त केही  जितिसक्यो। यही नै मेरो निम्ति खुशीको कुरो भयोl’ आफ्नो किताब उक्त पुरस्कारको दर्जामा पुग्नु अनुवादक र प्रकाशक दुवैको भूमिका रहेको जनाउँदै उनले अनुवादक अजित बराल अनि रचना बुक्सका प्रकाशक रमण श्रेष्ठप्रति आभार व्यक्त गरे। अंग्रेजी अनि नेपाली दुवै पाठकहरूमा निक्कै चर्चामा रहेको फातसुङ अब छान्दा चाडै हिन्दी संस्करणमा पनि प्रकाशित भइरहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement