नयाँ दिल्ली: करिब ४० वर्षदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको इरानले ड्रोन प्रविधिको विकासमा विश्वका शक्तिशाली मुलुकहरूलाई समेत चकित तुल्याएको छ। पछिल्लो समय रुस–युक्रेन युद्धदेखि मध्यपूर्वका विभिन्न संघर्षहरूमा इरानी ड्रोनको प्रयोग बढेसँगै यसको रणनीतिक महत्त्वबारे नयाँ बहस सुरु भएको हो। सैन्य विज्ञहरूका अनुसार इरानले महँगो र जटिल प्रविधिको साटो सस्तो तर प्रभावकारी र ठूलो संख्यामा प्रयोग गर्न सकिने ड्रोन निर्माणमा जोड दिएर आधुनिक युद्धको समीकरण नै बदलिदिएको छ।
इरानको यो सफलताको कथा सन् १९८० को इरान–इराक युद्धबाट सुरु भएको हो, जहाँ उसले टोही विमानको अभावमा पहिलोपटक सस्तो प्लास्टिक र साधारण बोर्डबाट बनेका ड्रोनहरूको प्रयोग गरेको थियो। इस्फहान विश्वविद्यालयका विद्यार्थीहरूले सुरु गरेको यो सानो परियोजना आज विश्वको प्रमुख सैन्य उद्योगमध्ये एक बनेको छ। इरानले शाहेद–१३६ जस्ता ड्रोनहरू जम्मा २० हजार डलरमा तयार गर्छ, जसलाई रोक्न विपक्षीले २० लाख डलरसम्मका महँगा मिसाइलहरू प्रयोग गर्नुपर्ने हुन्छ। यही आर्थिक र रणनीतिक लाभका कारण इरान आज ड्रोन प्रविधिको विश्वव्यापी केन्द्र बन्न पुगेको हो।










