खरसाङ: नेपाली भाषा संग्रामी बुद्धिमान प्रधान बमपलाई खरसाङको नवगठित संस्था प्रज्ञा साझा मञ्चले यहाँको गोर्खा जनपुस्तकालयमा एक कार्यक्रमको आयोजना गरेर सम्वर्द्धना जनाइयो। मञ्चको सभापति रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषा संग्रामी तथा साहित्यकार बुद्धिमान प्रधान बमपलाई नेपाली टोपी अनि खदार्पणसहित अंग वस्त्र ओड़ाएर तथा सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। साहित्यकार दिल थापा अनि रचना अनाकारद्वारा सञ्चालित समारोहमा मुख्य अतिथिको रूपमा नाटककार पूर्ण गुरूङ निरुपम थिए भने विशिष्ट अतिथिको रूपमा खरसाङका विधायक बीपी बजगाईं, समाजसेवी टीटी लामा उपस्थित थिए। यस अवधि बुद्धिमान प्रधान बमपलाई प्रदान गरिएको सम्वर्द्धना पत्र सह सचिव प्रसन प्रधानले राखे भने उनको परिचय साहित्यकार ऋषि राईले पठन गरेका थिए। कार्यक्रममा स्वागत सम्बोधन संस्थाकी सचिव उषा किरण सत्यदर्शीले राखिन्। त्यसरी नै आफ्ना पिताको ऐतिहासिक पृष्ठभूमि बमपका छोरा चन्द्रमणि प्रधानले राखे। आफ्नो सम्बोधनमा विशिष्ट अतिथि विधायक बीपी बजगाईंले हाम्रा यस्ता विभूतिहरूलाई सम्मान होइन पूजा गर्नुपर्छ भनी बताए। मुख्य अतिथि पूर्ण गुरूङ निरुपमले बुद्धिमान प्रधानले नेपाली जाति, भाषा, साहित्य अनि समाजप्रति गरेको योगदानबारे अवगत गराउँदै नव गठित प्रज्ञा साझा मञ्चले गरेको कार्यको मुग्ध कण्ठले प्रसंसा गरे।










