नाम्ची: दक्षिण जिल्लाको नाम्चीस्थित पोकलोक कामराङ समष्टीमा धारावाहिक रुपमा सम्पन्न भइरहेको नारी शक्तिको वार्डस्तरीय समन्वय सभाको आज समापन भयो। यस समापन कार्यक्रममा मुख्य अतिथिको रुपमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई उपस्थित थिइन् भने उनको साथमा जिल्ला अध्यक्ष अञ्जिता राजालिम, नाम्ची जिल्लाकी मुख्यन्त्रीका अतिरिक्त राजनीतिक सचिव कविता सापकोटा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कृष्ण राईले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा वर्तमान सिक्किम सरकारले विभिन्न नारीमुखि कार्यक्रमहरू अघि ल्याएर नारीहरूलाई सशक्त बनाउने कार्य गरेको बताइन्। नारीहरूलाई आर्थिक अनि मानसिकरुपले स्वतन्त्र बनाउने उद्देश्यसहित सरकारले काम गरिरहेको उनले जानकारी गराइन्। आमा योजना, बहिनी योजना, आमा सहयोग योजना साथै ठेकापट्टा गर्दा टीडीआरमा छुट जस्तो योजनाहरू अघि ल्याएर मुख्यमन्त्री तामाङले नारीहरूलाई सम्मान दिएको बताउँदै अब राज्यको सबै आमा- नारीहरूले फेरि पनि पार्टी अध्यक्षलाई आशिर्वाद दिएर सिक्किमलाई उन्नतीको पथमा अघि लिएर जानको निम्ति सहयोग गर्नुपर्ने आग्रह गरिन्। यसका साथै अन्य निर्वाचन क्षेत्रको तुलनामा पोकलोक कामराङ निर्वाचन क्षेत्रमा धेरै काम भएको उनले दावी गरिन्। यसै कार्यक्रममाझ मुख्यमन्त्रीकी धर्मपत्नी राईले सिक्किम सरकारबाट जनतालाई प्राप्त हुने विभिन्न साहुलियतहरू पनि वितरण गरिन्।










